काठमाडौं, असोज १३ । वाणिज्य मन्त्रालयले तुलनात्मक र प्रतिस्पर्धी वस्तु तथा सेवाको उत्पादन र निर्यात प्रवद्र्धनका लागि तयार गरेको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआइएस) २०१६ सार्वजनिक गरेको छ ।
२०७३ वैशाख १ गतेको मन्त्रिपरिषदबाट पारित व्यापार रणनीति विहीबार सार्वजनिक गरिएको हो ।
सरकारले २०६७ सालदेखि नेपाल व्यापार एकीकृत रणनीति २०१० कार्यान्वयनमा ल्याएको थियो ।
उक्त रणनीतिमा समयसापेक्ष परिमार्जन एवं अद्यावधिक गरी नयाँ रणनीति बनाइएको मन्त्रालयले जनाएको छ ।
नयाँ रणनीतिमा ९ वस्तु तथा ३ सेवाहरुलाई समावेश गरिएको छ । अघिल्लो रणनीतिमा १२ वस्तु तथा ७ सेवा गरी १९ प्रकारका वस्तु तथा सेवा समावेश गरिएको थियो ।
एनटीआईएसमा अलैंची, अदुवा, चियाँ, औषधिजन्य जडिबुटी, तयारी पोशाक, जुत्ता–चप्पल, छालाका सामग्रीहरु, च्याङ्ग्रा पस्मिना, कार्पेट रहेका छन् ।
३ प्रकारका सेवाहरुमा अर्धदक्ष तथा दक्ष कामदारहरु, सूचना प्रविधि तथा बिजनेस प्रोसेस आउटसोर्सिङ र पर्यटनलाई तुलनात्मक तथा प्रतिस्पर्धी लाभका वस्तु तथा सेवाकारुपमा पहिचान गरिएको छ ।
यो रणनीति २०२० सम्मका लागि तयार पारिएको हो । निजी क्षेत्रले रणनीति कार्यान्वयनमा जोड दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्