१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


पत्रकार खनालमाथि सांघातिक आक्रमण, मिडिया नेपाल र राप्रपा नेपालद्वारा निन्दा


0
Shares

काठमाडौं, असोज १४ । मिडिया नेपालका केन्द्रीय सदस्य तथा पत्रकार कृष्ण खनालमाथि अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ ।

टाउकोमा गम्भीर चोट लागेका खनालको बीएन्डबी अस्पताल ग्वार्कोमा उपचार भइरहेको छ । सघन उपचार कक्षमा उपचाररत खनालको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

मंगलबार राति ललितपुर, ग्वार्कोमा उनीमाथि सांघातिक आक्रमण भएको हो ।

यसैबीच मिडिया नेपालले विज्ञप्ति जारी गर्दै पत्रकार खनालमाथि भएको आक्रमणको निन्दा गरेको छ । अध्यक्ष गोपाल पौड्यालले विज्ञप्ति जारी गर्दै पत्रकार खनालमाथि भएको आक्रमणले मिडिया नेपाल स्तब्ध भएको जनाएका छन् ।

‘यस्तो अमानवीय र क्रुर घटनाको मिडिया नेपाल घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अपराधिक, अमानवीय र क्रुर घटनामा संलग्न अपराधीलाई तुरुन्त पत्ता लगाई कारवाही गर्न नेपाल सरकार, नेपाल प्रहरीलाई अनुरोध गर्दछौं ।’

राजधानीजस्तो समवेदनशील स्थानमा एउटा पत्रकारले जीवनमरणको दोसाधमा हुने गरी कुटाइ खाँदासमेत राज्यले अहिलेसम्म दोषी पत्ता लगाउन नसकेकोमा ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘चाँडोभन्दा चाँडो दोषी पत्ता लगाई कडाभन्दा कडा कारवाही गर्न अनुरोध गर्दछौं ।’

यसैगरी राप्रपा नेपालले पनि विज्ञप्ति जारी गर्दै पत्रकार खनालमाथि भएको आक्रमणको निन्दा गरेको छ । पार्टीका सह–प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पत्रकार खनालमाथि अज्ञात समूहद्वारा भएको सांघातिक हमलाको राप्रपा नेपाल घोर निन्दा एवं भत्सर्ना गर्दछ ।’

यसप्रकारको क्रुर र अमानवीय आक्रमणको जति निन्दा गरेपनि कम हुने भन्दै राप्रपा नेपालले विज्ञप्तिमा भनेको छ, ‘प्रेस जगतले निर्वाध ढंगबाट काम गर्न पाउनु पर्नेमा राप्रपा नेपालले सदा जोड दिदै आएको छ ।’

घटनाका दोषी पत्ता लगाइ अबिलम्ब कारबाही गर्न, क्षतिपूर्ति दिलाउन तथा पत्रकार खनालको उपचारको व्यबस्था गर्न राप्रपा नेपालले सरकारसँग मागसमेत गरेको छ ।