Logo ३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026


भाषाविद् भन्छन्–‘नेपाली भाषा समाप्त पार्न खोजियो’


0
Shares

काठमाडौं, असोज १४ । नेपाली भाषालाई समय सापेक्ष बनाउने नाममा यसको अस्तित्वलाई नै मेटाउने कोसिस भइरहेको भन्दै शब्दकोषकार तथा वरिष्ठ भाषाविद्हरुले गम्भीर आपत्ति जनाएका छन् ।

शुक्रबार काठमाडौंमा गरिएको एक कार्यक्रममा नेपाली भाषाका जानकारहरुले बुद्धिजीवीका नाममा केही सीमित व्यक्तिले आफूखुसी ढंगले नेपाली भाषाको स्वरुप बदल्न लागेकोमा दुःख व्यक्त गरेका हुन् ।

कार्यक्रममा शब्दकोषकार बसन्तकुमार शर्मा नेपाल ‘यात्री’ले परिमार्जनको नाममा नेपाली भाषामाथि नै संकट उत्पन्न हुने गरी काम गर्न नहुने बताए ।

कार्यक्रममा वरिष्ठ लेखक चुडामणि गौतमले आफूलाई भाषाको मसिया ठान्नेहरुबाटै नेपाली भाषामाथि निर्मम प्रहार हुनु दुःखद् भएको बताए ।

नेपाली भाषा बचाऊ अभियानका संयोजक डा. बलदेव गाउँलेले केही समूहले नेपाली भााषाकोबारेमा अस्वाभाविक तर्क गर्दा गौतमबुद्ध, विश्वेश्वरप्रसाद कोइराला, महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि अहिलेकी चर्चित नारी साहित्यकार झमक घिमिरेसम्मका कृतिलाई अशुद्ध बनाइएदिएको बताए ।

कार्यक्रममा भाषाविद् शरच्चन्द्र वस्तीले अहिलेको बहस नेपाली भाषा सपार्नेभन्दा पनि त्रिभुवन विश्वविद्यालय र नेपाल प्रज्ञा प्रतिष्ठानबीचको लडाइँ भएको बताए ।

कार्यक्रममा वरिष्ठ लेखक चुडामणि गौतमले परिमार्जनका नाममा नेपाली भाषा बिगारिँदा र वास्तविक मानक कस्तो हुने भन्ने प्रमाणसहित तयार पारेको ‘विवादित वर्णविन्यासको नेपाली रुप नामक’ शब्दकोष वरिष्ठ शब्दकोषकार शर्माले सार्वजनिक गरे ।