काठमाडौं, असोज १५ । नेपालको संविधान २०४७ पुर्नस्थापना गर्नुपर्ने माग राख्दै अभियान थालेको पुरानो शक्ति अभियानले जनआन्दोलको भावना विपरित विदेशीको ईशारामा बनेको भन्दै नेपालको संविधान २०७२ खारेज गर्नुपर्ने माग राखेको छ ।
पुरानो शक्ति अभियानले राजधानीमा आयोजना गरेको सभालाई संवोधन गर्दै काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा नेपाली काँग्रेसका नेता पि एल् सिंहले २०४७ सालकै संविधानलाई नै पुर्नस्थापना गर्नुपर्ने माग गरे ।
उनले २०७२ सालको संविधान नेपालीको भावना विपरित विदेशीको चाहाना अनुसार बनेको भन्दै खारेज गर्नुपर्ने माग गरे ।
भारतले नेपालको पानीको स्रोतमा आँखा गाडेकाले नेपालको संविधानप्रति औंला उठाएर हस्तक्षेप गर्न खोजेको बताए । नेपाली काँग्रेसको नेता मणि लामाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वत्यव्य नेपाली जनताको भावना विपरित भएको बताए ।
त्यसै गरि वरिष्ठ पत्रकार प्रेम कैदीले दिल्लीको ईशारामा बनेको संविधान नेपाली जनतालाई स्विाकार्य नहुने बताए । उनले नयाँ संविधानले देश विखण्डन हुने भन्दै संघियता खारेज गरी स्थानिय स्वायत्त शासन कायम गरि तत्काल स्थानिय निकायको निर्वाचनको हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नेपालमा हिन्दु राष्ट्र कायम हुनुपर्ने , राजनितिक भागवण्डामा भएको नियुक्ति खारेज गर्नुपर्ने, अरुण योजना रद्ध गर्नुपर्ने, नेपालमा विदेशी हस्तक्षेप बन्द गरि विदेशी साहारामा हिड्ने नेताको पहिचान गरी सामाजिक बहिष्कार गर्नुपर्ने जस्ता माग राखेका छन् ।
उनिहरुले कार्तिक २१ गते पुनः शान्तीबाटिकामा भेला भई विरोध सभाको आयोजना गर्ने पनि घोषणा गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्