१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


ललितपुरमा मल्लकालीन अष्टमातृका’गंप्याखं’ नाच सुरु


0
Shares

ललितपुर, असोज १५ । ललितकताले प्रख्यात ललितपुरमा मल्लकालीन अष्टमातृका गण नृत्य (गंप्याखं)सुरु भएको छ । रातभर नृत्यनाथको पूजा गरी घटस्थापनाको दिन विहानै नृत्यनाथथान न्याखाचुकबाट देवगण सार्वजनिक भएका हुन् ।

विहान बिना मुकुण्डो देवदेवी नृत्य गर्दै न्याढल, नाय्लखु, कोबहाल, धलाचा, खाछेँ, थ्याका हुँदै नकबहिलमा पुगेर विहानको नाच विसर्जन गरिएको छ भने आजै बेलुकादेखि ११ दिनसम्म दैनिक नकबहिलमा देगगण भेला गराई नचाउँदै ललितपुर दरवार क्षेत्रमा लग्ने गरिन्छ ।

उक्त स्थानमा अष्टमातृका नाच प्रदर्शन पश्चात दैनिक सांस्कृतिक गतिविधि समापन गर्ने चलन छ ।

यसरी नचाउँदा ललितपुर दरवारको मूलचोकमा ५ दिन, कार्तिक डबलीमा ५ दिन गरी १० दिन र ११ औं दिनमा आयोजक टोल नकबहिलमा नचाइने गरिन्छ भने फूलपातीको दिने दिउँसो ४ घण्टा यो नाच प्रदर्शन गरिन्छ ।

अष्टमातृका देवगण १३ देवदेवीको समूह हो । जसमा सिंगिनी, भैरव, गणेश, कुमार, ब्रम्हायणी, महेश्वरी, कुमारी, वैश्णवि, बाराही, इन्द्रायणी, चामुण्डा काली, महालक्ष्मी र ब्यांगिनी पर्दछन् ।

प्रत्येक दिन बेलुका यी देवदेवी गण नकबहिलमा लस्करै बस्ने गर्दछन् र पूजा फयेकेगु (थाप्ने) चलन अनुसार भक्तजनहरु देवदेवीको पूजा गर्दछन् । पूजा सकिएपछि क्रमवद्ध भइ नृत्य गर्दै नकबहिलबाट धलाय्चा, क्वालखु हुँदै दरवार क्षेत्र पुगेर उक्त स्थानमा विशेष प्रस्तुति गर्ने गरिन्छ ।

यो नाच मल्ल राजा श्रीनिवास मल्लले संचालन गरेका हुन् । तान्त्रिक विद्यामा पारंगत राजा श्रीनिवास मल्लले सपनामा सँधै देवदेवीहरु भैरवचक्र मण्डल बनाई नृत्य गरिरहेको देखेपछि पुरोहितहरु मधुसुदन ब्राम्हण र कुलापाद बज्राचार्यसँग सल्लाह गर्दा अष्टमातृका नाच (गंप्याखं) को निर्माण र आयोजना गर्नुपर्ने निष्कर्षपछि यो नाच सुरु भएको मानिन्छ ।

देशमा आउन सक्ने अष्टमहाभय तथा भूतप्रेत पिशाचबाट मुक्त भइ देश शान्त होस् भन्ने कामना गरी राजा श्रीनिवास मल्लले नेपाल सम्वत ७८४ मा यो नाच परम्परा संचालन गरेका हुन् ।

नाच संचालनका लागि चचाम्ये (चर्या गीत) समेत राजा श्रीनिवासले नै सृजना गरेका हुन् भने कुलापाद बज्राचार्यले पंचताल वाद्यवादन र देवगणको नृत्य मुद्रा सृजना गरेका हुन् । यो नाचको जिम्मेवारी शाक्य, बज्राचार्य जातिलाई दिइएको थियो भने आजसम्म पनि यही जातिबाट संचालन गर्दै आइरहेको छ ।

ललितपुरको ओकुहाल, नकबहिल र गाःबहालबाट पालैपालो संचालन गर्ने गरी यो परम्परा शुरु भएको थियो तर २४ सालपछि ओकुबहाल र गाःबहालले जिम्मेवारी नलिएपछि हाल नकबहिल टोलले संचालन गर्दै आएको छ ।

अष्टमातृका नाच (गंप्याखं) पायो (खड्ग जात्रा-जुन हाल रोकिएको छ) र यही अवधिमा थेचोबाट ललितपुर दरवार क्षेत्रमा प्रवेश हुने गथु प्याखंसँग पनि सम्बन्धित छ ।

गथु प्याखं (माली समुदायको जिम्मेवारीमा संचालन हुँदै आएको अष्टमातृका नाच) दरवार क्षेत्र प्रवेश भएपछि अष्टमातृका (गंप्याखं) नाच गमन जाने भनी जमरा ढल्केको क्षेत्रमा जाने चलन पनि हाल बन्द भएको छ ।

ऐतिहासिक धार्मिक यो नृत्य परम्पराको संचालनमा सरकारको सहयोग मात्र होइन प्रोत्साहन समेत नपाएको नाच प्रवन्ध समितिका अध्यक्ष राजेन्द्र शाक्य बताउँछन् ।

संस्कृति मन्त्रालयका सचिवको जिम्मेवारीमा रहेका ब्यक्तिले सहयोगका लागि अनुरोध गर्दा आजको समयमा यस्तो परम्परा के काम भनेर जवाफ सुनी निकै दुःखी भएको उनी बताउँछन् ।

तैपनि ललितपुर उपमहानगरपालिका, ललितपुर उद्योग वाणिज्य संघ लगायत अन्यबाट प्राप्त सहयोगबाट यो नाच परम्परागत पुनः निरन्तर संचालन भएकोले भने उनको आत्मविश्वास बढेको छ ।