काठमाडौं, असोज १६ । उद्योगमन्त्री नविन्द्रराज जोशीले संसद्बाट औद्योगिक व्यवसाय ऐन पारित भएपछि औद्योगिक वातावरण तयार भएको जिकिर गरेका छन् ।
बिहीबार संसद्बाट यो ऐन पारित भएको थियो । हालसम्म भएका प्रगतिबारे जानकारी गराउन मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा मन्त्री जोशीले लगानीकर्तालाई लगानीका लागि आश्वस्त पारेको र ठुला लगानीकर्ता पनि आकर्षित हुने विश्वास व्यक्त गरे ।
उनले विशेष आर्थिक क्षेत्र विकास ऐन पनि पारित भएको भन्दै यसबाट निर्यातयोग्य उद्योगलाई प्रोत्साहन मिल्ने बताए ।
मन्त्रालयले ७५ जिल्लामा उद्यमी विकासका लागि प्रस्ताव आह्वान गरेको पनि जनाएको छ । उद्यमी बन्न चाहनेलाई सरकारले तालिम दिने र उत्कृष्ट उद्यम सम्बन्धी योजना छनौट गरी ४ वर्षका लागि पाँच लाख रुपैयाँसम्म बिना व्याज ऋण उपलब्ध गराइने मन्त्री जोशीले जानकारी गराए ।
मन्त्रालयले कम्पनी ऐन संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश भएको, नेपाल औषधी लिमिटेड संचालनको क्रममा रहेको, हेटौंडा कपडा कारखाना संचालनको मोडालिटी अध्ययनको लागि कार्यदल गठन भएको जनाएको छ ।
यस्तै खानी सल्लाहकार समिति गठन, वैदेशिक लगानी नीतिमा सुधार लगायतका कार्य भएको उद्योग मन्त्रालयले जनाएको छ ।
मन्त्री जोशीले तोकिएको समयमा खानी संचालन नभए इजाजतपत्र रद्द गर्ने तयारी भइरहेको पनि बताए ।





प्रतिक्रिया दिनुहोस्