Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


साझाको बस वीरगन्जमा पनि


0
Shares

                                                      फाइल फोटो

काठमाडौं, असोज १९ । लामो समयपछि साझा यातायातले बुधबार (आज)देखि वीरगन्जमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।

गत असोज १६ गतेदेखि गोरखा र बाग्लुङमा आफ्नो सेवा विस्तार गरेको साझा यातायातले दसैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुको चापलाई मध्यनजर गर्दै बुधबारदेखि वीरगन्जमा पनि सेवा विस्तार गरेको हो ।

केही दिनमा नै भैरहवा हुँदै लुम्बिनीका लागि सेवा विस्तार हुने बताइएको छ ।

१० वर्षपछि पहिलोपटक गत असोज १६ गतेदेखि साझाले आफ्नो सेवा उपत्यकाबाहिर विस्तार गरेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए ।

लामो समयपछि गत आइतबारदेखि दैनिकरुपमा बागलुङका लागि दुई र काठमाडौं—गोरखाका लागि दुईओटा बस काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन् ।

विभिन्न आन्तरिक कारणले गर्दा वि.सं. २०६२/६३ बाट पूर्णरूपमा लामो रुटमा साझाका बस सन्चालन हुन छाडेको थियो ।

झन्डै दुई हप्ताअघि भारतबाट ल्याइएका ३० बस भने परीक्षणकाक्रममा रहेकाले दसैंपछिमात्र सन्चालन हुने प्रमुख पाण्डेले जानकारी दिए ।

काठमाडौं उपत्यकामा भने २०७० वैशाखदेखि १६ ओटा बस सन्चालन भइरहेका छन् ।

साझाले अहिले उपत्यकाबाहिर सन्चालन गर्न लागेका बस कुनै नयाँ नभइ हाल उपत्यकामा सन्चालन भइरहेको बस नै हो ।

लामो समयपछि उपत्यकाबाहिर बस सन्चालन भएको हुँदा सन्चालनको सुरुको दिनमा त बसको सिट भरिने गरी यात्रु थिएनन्, अहिले भने बसमा अटाइ–नअटाइ यात्रु रहने गरेका छन् ।

उक्त बसमा एकपटकमा बसेर ५५ जना र केहीले उभिएर पनि यात्रा गर्न सक्नेछन् ।

सेवा विस्तार गरेको स्थानमा जानका लागि यात्रुले पुल्चोक र कलंकीबाट टिकट काट्न पाउनेछन् । रासस