Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


यी दुई नेपाली महिलाले पाउँदैछन् अन्तर्राष्ट्रिय पुरस्कार, पढ्नोस्, को हुन् उनीहरु ?


0
Shares

चितवन, असोज १९ । ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएका छन् ।

चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छतमै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लागेकी पश्चिम नेपालकी निर्मलादेवी थारु ‘चौधरी’ले सो पुरस्कार प्राप्त गर्ने भएका छन् ।

जनही एक हजार डलर अर्थात् झन्डै रु एक लाख ६ हजार राशिको उक्त पुरस्कार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा यही अक्टोबर १५ अर्थात् असोज २९ गते काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई प्रदान गरिने प्राकृतिक विज्ञान संग्रहालयस्थित स्थानीय अन्वेषण प्रवद्र्धन नेपालका राष्ट्रिय संयोजक प्राध्यापक डा. धर्मराज डंगोलले जानकारी दिए ।

नेपाल र भारतका दुई/दुईजना तथा युगान्डा, केन्या, क्यामरुन, अमेरिका र क्यानडाका एक/एकजना गरी ९ महिलालाई उक्त पुरस्कार प्रदान गरिने स्वीट्जरल्यान्डका ओमन्स वर्ल्ड समिट फाउन्डेसनले जनाएको छ ।

आफूले नोमिनेसन गराएर पठाएका महिलाले पुरस्कार पाउँदा निक्कै खुसी लागेको डंगोलले प्रतिक्रिया दिए ।

उनकाअनुसार नयाँ सिर्जनशीलतामा लागेर गाउँघरमा अन्वेषणको प्रयोग गरी समाज परिवर्तनमा लागेका महिलालाई यो पुरस्कार दिइन्छ ।

सन् १९९४ मा स्थापना भएको उक्त पुरस्कारवाट हालसम्म विश्वका १३० देशका ४२२ जना महिला सम्मानित भइसकेका छन् ।

‘असोज १५ गते राति पुरस्कारका लागि आफू छनोट भएको मेल आयो, थाहा पाउँदा खुसीको सीमा नै रहेन, भरतपुर स्याउलीबजारकी तुलसी ज्ञवालीले हर्षित हुँदै भनिन्–‘यो सम्मानले समाजमा केही गरेको छु भन्ने महसुस भएको छ ।’

घरमा निस्कने फोहरलाई उनी अहिले घरमै प्रयोग गरेर कौसीमा तरकारी फलाउँदै आएकी छन् ।

तुलसीका श्रीमान् कपिल ज्ञवाली भन्छन्–‘सम्मान आफैंमा गहु्रँगो चिज हो, यसले काम गर्नमा थप प्रेरणा, कर्तव्य र जिम्मेवारी महसुस गराएको छ ।’ रासस