बझाङ, असोज २० । बझाङको काँडालगायतका दर्जनौ गाउँमा खाद्यान्न संकट भएको छ ।
सर्वसाधारण जंगली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न थालेका छन् ।
ग्रामीण भेगमा खाद्यान्न ढुवानी गर्दा व्यापारीलाई कम फाइदा हुने भएपछि उनीहरु खाद्यान्नको साटो बढी फाइदा लिन रक्सी (मदिरा) ढुवानी गर्न थालेका हुन् ।
बर्सेनि खाद्यान्नको संकट झेल्दै आएका उत्तरी भेगका न्युना, बलौडी, लट्टोन, कोल, रजाडा, सैनगाउँ, बिछाडा, धलौन, एैराडी, पराली, डाउगाउँलगायतका बासिन्दा खाद्यान्न अभाव हुँदा जंगली कन्दमूल, सिस्नु खान थालेका छन् ।
व्यापारीले पसलमा खाद्य सामग्री नराखी मदिरामात्र राख्ने गरेका काडाँ गाविसका उमेश बोहराले बताए ।
‘अन्न नछोएको पाँच दिन भयो, दसैं–तिहारमा भात खानुपर्ला भनेर गाउँका सबै पसल चाहारें, कतै चामल भेटाइनँ’–उनले भने । उनलाई सदरमुकाम चैनपुर पुग्न चार दिन लाग्छ ।
पाखो जमिनमा लगाएको कोदो, मकै, आलुलगायतका बाली घर भित्र्याउन नपाउँदै स्याल, भालु, बँदेलजस्ता जंगली जनावरले खाइसकेको काडाँ गाविस–३ का रामबहादुर बोहराले बताए ।
‘घरमा एकमुठी अन्न छैन, ऐंचोपैंचो गरौं भने पनि कसैको घरमा अन्न छैन’–उनले भने ।
भोकमरी भएको गाउँमा व्यापारीले खाद्य सामग्री ढुवानी गर्नुको साटो रक्सी ढुवानी गर्न थालेका छन् । चैनपुर पुग्न चार दिन लाग्ने काँडामा एककिलो मोटो चामलको मूल्य रु १६० पर्छ ।
‘व्यापारीले फाइदा लिने हो, हामीलाई खाद्य सामग्रीमाभन्दा मदिराबाट बढी फाइदा हुन्छ’–काँडाका व्यापारी राजेन्द्र बोहराले भने ।
चैनपुरबाट कमसल खालको मदिरा रु ३० मा किनेर रु ८० मा बिक्री गर्ने गरेको बोहराले बताए ।
द्वन्द्वका समयमा बन्द भएको मेलबिसैना खाद्य डिपोबाट नागरिकले आवश्यकताअनुसार चामल पाउन सकेका छैनन् ।
डिपोमा चामल ढुवानी गर्न सम्बन्धित निकायले पहल नगरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । रासस









प्रतिक्रिया दिनुहोस्