Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


नारायणगढ–मुग्लिन सडकको यस्तो छ हविगत (भिडियो)


0
Shares

राजु चौधरी-
चितवन, असोज २१ । बिस्तारका क्रममा रहेको मुग्लिन–नारायणगढ सडकखण्ड यात्रुका लागि दिक्दारी बन्दै गएको छ । दशैं मनाउन घर जानेहरुको चापले यो सडक खण्डमा घण्टौं फस्नुपर्ने बाध्यता छ ।

दशैं पर्व मनाउन यतिबेला राजधानीबाट बाहिरिने र भित्रिनेको संख्यामा वृद्धि भएसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा गाडीको चाप ह्वात्तै बढेको छ । जोखिमपूर्ण सडकमा यात्रा गर्न मानिसहरु बाध्य बनेका छन् ।

मेचीदेखि महकालीसम्मलाई राजधानीसँग जोड्ने मुख्य सडकको रुपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको कामले अहिले झनै जोखिम बढेको छ । तर चाडपर्वलाई लक्षित गर्दै दुरी पार गर्न घण्टौं लाग्ने नारायणगढ–मुग्लिन सडक खण्डलाई केही सहज बनाउने प्रयास भने थालिएको छ ।

सम्बन्धित निकायले यस सडकखण्ड बिस्तारै सुधार हुँदै गईरहेको बताए पनि चालकहरुमा भने अझै पनि डर त्रास कायमै छ । गाडीको चाप बढ्नु र सबै किसिमका सवारी साधानहरु एकैपटक ओहोर दोहोर गर्नलाई अझै असहज स्थिति सिर्जना भएको चालकहरु बताउँछन् ।

नारायणगढ मुग्लिन सडकखण्ड विस्तार कार्य सुरु भएको लामो समय भईसक्यो । तर विविध समस्याका कारण काममा केही ढिलासुस्ती भईरहेको छ । चाडबाडको बेलामा धेरैले यस सडकखण्डको अवस्थामा बारेमा गुनासो राखेपछि सम्बन्धित निकायलाई पनि घच्घच्याएको छ ।

केही साताअघि मात्र पनि यस सडक खण्डको अवस्थामा बारे भौतिक तथा यातायात रमेश लेखकले निरीक्षण गरेका थिए । उनले त्यसबेला नै यस सडकखण्डको निर्माण कार्य युद्धस्तरमा हुने बताएका थिए ।

ट्राफिक प्रहरी कार्यालय चितवन, नारायणगढ–मुग्लिन सडक आयोजना र सडक डिभिजन कार्यालयल चितवनले संयुक्त रुपमा गरेको अध्ययनमा नारायणगढदेखि मौवा खोलासम्मको ३८ स्थान दुर्घटनाको लागि निकै जोखिम ठहर्‍याएको छ ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार ०७१ साल यता यो खण्डमा भएको गम्भीर २० दुर्घटनामा परि ४० जनाको ज्यान गएको छ । ५८ जना घाईते र १९ जना बेपत्ता छन् । यसैले यससडक खण्डलाई जतिसक्दो छिटोे निर्माण कार्य सम्पन्न गरि यात्रा सहज बनाउन जरुरी छ ।