गोरखा, असोज २१ । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखाको लाप्राकस्थित नमुना बस्तीको शुक्रबार एक समारोहबीच शिलान्यास गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पुनःनिर्माणको जिम्मा लिएको गुप्सीपाखास्थित लाप्राक नमुना बस्तीको उनले शिलन्यास गरी पुनःनिर्माण अभियानको सुरुआत गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री दाहालले ‘पुनःनिर्माणलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै यस कार्यमा सबैको सहयोग र समन्वय आवश्यक रहेको छ’–भने ।
गुप्सीमा घर बनाउने लाप्राकीलाई सरकारले घडेरी उपलब्ध गराएको जानकारी दिँदै उनले भने–‘अहिले जग्गाको भोगाधिकारमात्रै दिइएको छ, पछि हकाधिकार पनि दिइने छ ।’
भूकम्पले सिंगो गाउँ ध्वस्त भएपछि लाप्राकीहरु गुप्सीपाखा जंगलको जग्गामा अस्थायी टहरा बनाएर बस्दै आएका छन् ।
गुप्सीमा ६१७ ओटा टहरो छ । एनआरएनएले सबै लाप्राकीलाई घर बनाइदिने प्रतिबद्धता जनाइसकेको छ ।
गाउँ पुगेका प्रधानमन्त्री दाहालसँग भूकम्पपीडित लाप्राकीले घर, बाटो, बिजुली र खानेपानीको व्यवस्था गरिदिन माग गरेका छन् ।
कार्यक्रममा गाविस सचिव धु्रवराज पराजुलीले गाउँलेको समस्या समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री दाहाललाई बुझाएको नेकपा माओवादी केन्द्र लाप्राकका नेता मारसिङ गुरुङले जानकारी दिए ।
ज्ञापनपत्रमा बारपाक, लाप्राक, गुम्दा, माछाखोला सडक कालोपत्रे गर्न माग गरिएको गुरुङको भनाइ छ ।
जवाफमा प्रधानमन्त्री दाहालले बारपाक, गुम्दा सडक कालोपत्रे गर्न बजेटको व्यवस्था गर्न पहल गर्ने बताए ।
गुप्सीपाखामा खानेपानी, स्वास्थ्यचौकी भवन, गाविस भवन, बिजुलीलगायतको सुविधा छैन ।
गाउँलेले घर पुनःनिर्माणकाक्रममाः विकासका अरु पूर्वाधारयुक्त लाप्राक गाउँ निर्माण हुनुपर्ने बताउँदै आएका छन् । रासस





प्रतिक्रिया दिनुहोस्