Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


कुलेखानी भरिएन, माग धान्न प्राधिकरणलाई समस्या हुने


0
Shares

काठमाडौं, असोज २१ । सन्चित शक्तिकोरुपमा रहेको मुलुकको एकमात्र जलाशय कुलेखानी यसपटक पनि पूर्णरुपमा नभरिँदा आगामी हिउँदमा पूर्णरुपमा विद्युत् उत्पादनमा समस्या हुने भएको छ ।

मनसुन सकिनलाग्दा देशको एकमात्र जलाशय कुलेखानी भरिन अझै १० मिटरको हाराहारीमा बाँकी छ । मुलुकको एकमात्र जलाशययुक्त आयोजना कुलेखानी पहिलो र दोस्रोबाट कुल ९२ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

उर्जाको ‘ब्याक अप’कोरूपमा रहेको कुलेखानीको जलाशय एक हजार ५२० मिटरमात्र भरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठकाअनुसार करिब १० मिटरको हाराहारीमा पानी भरिन बाँकी छ ।

‘ठूलो वर्षा भएन भने यस वर्ष जलाशय भरिने सम्भावना कम छ’–उनले रासससँग भने–‘वर्षा जारी रहेका कारण सो क्षेत्रमा अझैपनि जलाशय भरिनसक्ने सम्भावना छ ।’

यस वर्ष एक हजार ५२५ मिटरमात्र भरिने र त्यसले आगामी हिउँदमा साँझको समयमा विद्युत् उत्पादन गर्न सहयोगी हुने उनको भनाइ छ ।

गत हिउँदमा कुलेखानीको जलाशय घटेर एक हजार ५०३ मिटरमा झरेको थियो ।

अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी विद्युत् माग भएका कारण पनि जलाशय पूर्णरुपमा सन्चालन गर्दा पानीको तह केही कम हुन पुगेको थियो ।

‘अघिल्ला वर्षमा पनि दसैं–तिहारसम्म जलाशय भरिने गरेको थियो तर गत वर्ष भने पूर्णरुपमा भरिएन’–प्रमुख श्रेष्ठले भने ।

विद्युत्भार कटौतीलाई नियन्त्रणमा राख्नका लागि कुलेखानीको महत्वपूर्ण भूमिका रहने गरेको छ ।

जलायश भरिँदा प्राधिकरणलाईसमेत हिउँदमा विद्युत् माग व्यवस्थापन गर्न सहज हुने गर्दछ ।

विद्युत्को अत्याधिक माग भएको समयमामात्रै कुलेखानीलाई विशेष गरी साँझको समयमामात्र चलाउने गरिएको छ ।

कुलेखानीको जडित क्षमता ९२ मेगावाट छ । त्यसमा पहिलो आयोजनाबाट ६० मेगावाट र दोस्रो आयोजनाबाट ३२ मेगावाट विद्युत् उत्पादन गरिन्छ ।

कुलेखानी तेस्रो आयोजना निर्माणको चरणमा रहेको छ । सो आयोजना आगामी पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्न सकिए थप १४ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

इलेक्ट्रोमेकानिकल ठेकेदारले समयमा काम नगरेको कारण आयोजनामा समस्या भएको भन्दै पछिल्लोपटक उर्जा मन्त्रालयले तोकिएको अवधिमा काम सम्पन्न नभए कारबाही गर्ने चेतावनी दिएपछि परियोजना सुरु भएको छ ।

केही दिनअघि उर्जामन्त्री जनार्दन शर्माले आयोजनाको स्थलगत् निरीक्षण गर्दै शीघ्र परियोजना सम्पन्न गर्न निर्देशन दिएका थिए । रासस