काठमाडौं, असोज २२ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंका लागि घर जाने यात्रीको संख्या बढेपछि करिब दुई हजार गाडी थप गरेको छ ।
महासंघले शनिबार सप्तमीदेखि नवमीका दिनसम्म बाहिर जाने यात्रीको संख्या दैनिक करिब एक लाख पुग्ने अनुमान गरेर सो संख्यामा गाडी थप गरेको हो ।
दसैंका अवधिमा करिब २० लाख सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएकामा अहिलेसम्म करिब १६ लाख बाहिरिएको महासंघले जनाएको छ ।
महासंघका कावा अध्यक्ष डोलनाथ खनालले सामान्य अवस्थामाभन्दा अहिले गाडी चढ्ने यात्रीको चाप बढेका कारण थप गरिएको जानकारी दिँदै दसैंका लागि सबै गाडीले ओहोर–दोहोर ३५/३६ हजार ट्रिप गर्नुपर्ने बाध्यता रहेको बताए ।
महासंघले टिकटको समस्या नरहेको जनाएपनि बल्खु, कलंकी, बालाजु बाइपास, कोटेश्वरलगायत नाकामा घर जान हिँडेका यात्रीको चहलपहल छ । उनीहरुले सजिलै टिकट प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । रासस





प्रतिक्रिया दिनुहोस्