फाइल फोटो
पोखरा, असोज २२ । कास्कीको सिल्दुजुरे गाउँ विकास समिति–९ बाहुनडाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिममा परीक्षण उत्पादन गर्ने भएको छ ।
मादीखोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना निर्माणको अधिकांश काम सकिएकाले परीक्षण उत्पादनको अन्तिम तयारीमा लागेको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए ।
आयोजनाको चार हजार २०० मिटर सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ गर्ने काम पनि सकिएकोे छ ।
विद्युत् लाइनलाई लेखनाथ नगरपालिकास्थित सबस्टेसनसम्म जोड्नका लागि ३२ ओटा विद्युत् टावर निर्माण गरिसकिएको र त्यसमा तार तान्ने काम पनि सम्पन्न भएको छ ।
टावरमुनि पर्ने जंगलमा रहेका रुख काट्न वन तथा भू–संरक्षण विभागबाट स्वीकृत आइसकेको र कात्तिक १५ गतेसम्म ती रुख पनि काटिसक्ने बताइएको छ ।
आयोजनाले परीक्षण उत्पादन गरेपछि त्यसमा केही कमी–कमजोरी भए एक महिनाभित्र सुधार गर्ने र मंसिर महिनाको अन्तिमतिरबाट नियमित उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा जोडिने को–अर्डिनेटर बरालले बताए ।
करिब रु ५ अर्ब २८ करोड बराबरको स्वदेशी तथा वैदेशिक सहयोग जुटाइ निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, विनोशकारी भूकम्प र सुरुङ खन्नेक्रममा पहिरो गएकाले लागत बढेर रु ८ अर्ब पुग्न गएको बताइएको छ ।
कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशतको सहयोगमा वि.सं. २०६९ को पुस महिनाबाट आयोजना सुरु गरिएको थियो ।
आयोजना सुरु भएको ३० महिनामा सक्ने लक्ष्य राखिएपनि विविध कारणले ४८ महिनामा आयोजना सकिन लागेको बताइएको छ । रासस





प्रतिक्रिया दिनुहोस्