Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


दसैं मान्न राजधानीबाट ‘२२ लाख बाहिरिए’


0
Shares

काठमाडौं, असोज २३ । दसैं मान्नका लागि राजधानी काठमाडौं उपत्यकाबाट शनिबारसम्म २२ लाख यात्रु बाहिरिएका छन् ।

उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्री गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष सरोज सिटौलाले तीन दिन–बिहीबार, शुक्रबार र शनिबार उपत्यकाबाट बाहिरिने यात्रीको सबैभन्दा बढी चाप रहेको र आइतबारदेखि न्यून हुने बताए ।

उनकाअनुसार शनिबारमात्रै दुई लाख ५० हजार यात्री उपत्यकाबाट बाहिरिएका छन् भने शुक्रबार सबैभन्दा बढी तीन लाख ५० हजार यात्री बाहिरिएका थिए ।

उपत्यकाका नागढुंगा, बल्खु, अरनिको राजमार्ग, बीपी राजमार्ग, साँखु, पासाङलामुमार्ग र टोखा—छहरे राजमार्गबाट यात्री देशका विभिन्न गन्तव्यतिर गएका हुन् ।

महासचिव सिटौलाले तीन दिनको अवधिमा शनिबारसम्म कुनै अप्रिय घटना नघटेको र विगतका दसैंभन्दा योपटक यात्री सहज तरिकाले गन्तव्यमा पुगेकोे दाबी गरे ।

दसैंलाई लक्षित गरी अहिले साना–ठूला गरी दैनिक पाँच हजारको हाराहारीमा सवारी आवत–जावत भइरहेको महासंघले जनाएको छ ।

सामान्य अवस्थामा दैनिक एक हजार देखि एक हजार २०० सम्म सवारी आवत–जावत गर्थे ।

महासंघले यात्रीको चाप र सुविधालाई मध्यनजर गरी असोज १५ देखि ३० गतेसम्म ‘पकेट पर्मिट’ दिएकाले देशभरका जुनसुकै सवारी जतासुकै सहजरुपमा जानसक्ने व्यवस्था गरेको छ ।

नयाँ गाडी नथपिए पनि देशभरका सबै गाडी राजधानीमा उतारी यहाँबाट यात्री लगिएको व्यवसायीले बताएका छन् ।

दसैंको पूर्णिमाको दिनदेखि यात्री फर्कने भएकाले त्यसका लागि अग्रिम टिकट खुला गरिएको र यात्रीको सहजताका लागि सबै कम्पनी–संस्थालाई आग्रह गरिएको महासचिव सिटौलाको भनाइ छ । रासस