Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


उपप्रधानमन्त्री महरा स्वदेश फिर्ता, भने–‘पुनःनिर्माणमा थप सहयोगका लागि आह्वान’


0
Shares

काठमाडौं, असोज २४ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा संयुक्तराज्य अमेरिकाको वासिंगटन डिसीमा सम्पन्न विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिएर सोमबार स्वदेश फर्किएका छन् ।

स्वदेश फर्केपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री महराले विश्वभरि रहेको गरिबी र असमानताको अन्त्य तथा नेपालको विकास र पुनःनिर्माणका सहयोगका क्षेत्रका विषयमा आफूले सम्बोधन गरेको बताए ।

उनले भूकम्पपछिको पुनःनिर्माणको प्रगतिको अवस्थाबारे जानकारी गराइ थप सहयोगका लागि आह्वान गरिएको जनाउँदै यसबाट आपसी विश्वासको वातावरण तय भएको उल्लेख गरे ।

दातृनिकायले नेपाल सरकारले भूकम्पपीडितलाई निजी आवास बनाउन दिने भनिएको थप रु एक लाख कसरी वितरण गर्ने ? भन्नेबारेमा जिज्ञासा राखेका थिए ।

वार्षिक बैठकमा विश्वका १७९ मुलुकका प्रतिनिधि सहभागी थिए । सोक्रममा विश्व बैंक, एसियाली विकास बैंक र अरु आर्थिक क्षेत्रका संस्थाका उच्चस्तरीय प्रतिनिधिसँग अनौपचारिक भेटवार्ता भएको थियो ।

भविष्यमा द्विपक्षीय छलफलबाट थप सहयोगबारे ठोस निर्णय हुने अर्थमन्त्री महराले जानकारी दिए ।

बैठकमा नेपालका तर्फबाट नेतृत्व गर्दै उनी यही असोज १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

महराका साथ अर्थसचिव शान्तराज सुवेदी, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, प्रमुख स्वकीयसचिव हिमाल शर्मालगायत नेपालबाट गएका थिए भने अमेरिकास्थित नेपाली दूतावासबाट चार उच्च कर्मचारीले पनि बैठकमा भाग लिएका थिए । रासस