१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


मझगाउँ विमानस्थल गौचरणमा परिणत (भिडियो)


0
Shares

डिल्लीराज पन्त
कञ्जचपुर, असोज २८ । करोडौं रुपैयाँको लगानीमा निर्माण गरिएको कञ्चनपुरको मझगाउँ विमानस्थल विगत २ दशकदेखि बन्द छ ।

विमानस्थल सञ्चालनका लागि गरिएको बेवास्ताका कारण एकातिर करोडौं लगानीमा बनाइएका भौतिक संरचना दिन प्रतिदिन जीर्ण हुँदै गएका छन् भने अर्कातिर विमानस्थल संरक्षणका लागि लगाइएका तारबार समेत हराउँदै गएका छन् ।

असुरक्षाको कारण देखाउँदै सशस्त्र द्वन्द्वकालमा बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल अहिले गौचरणमा परिणत भएको छ । झण्डै २ दशकदेखि बन्द विमानस्थल सञ्चालनका लागि पहल नहुँदा विमानस्थलमा दिनभरी गाई गोरुको बथान देखिन्छ भने बालबालिकालाई खेल मैदान बनेको छ ।

विमानस्थल पुनः सञ्चालनका लागि पटक पटक पहल गर्दा पनि सञ्चालन हुन नसकेको स्थानीयको भनाई छ ।

सुदूरपश्चिमका लागि पर्यटकीय आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको एशियाको दोस्रो लामो दोधारा झोलुङ्गे पुल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, बेतकोट ताल, प्यारा ताल, टनकपुर पुल, बैजनाथ धामलगायत धार्मिक तथा पयर्टकीय क्षेत्र यो जिल्लामा पर्छन् । कञ्चनपुर जिल्ला भारतको राजधानी दिल्लीबाट ७ घण्टाको दूरीमा रहेकाले पनि मझगाउँ विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन सक्ने हो भने भारत हुँदै नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकलाई समेत पोखरा, लुम्बिनी लगायतका अन्य पर्यटकीय स्थलहरुमा जान सजिलो हुने देखिन्छ । त्यसैगरी भारतसँगको व्यापारसमेत फस्टाउने छ ।

झन्डै ५२ बिघा क्षेत्रफलमा रहेको विमानस्थलको संरक्षण गर्न भन्दै नेपाल वायु सेवा निगमले एकजना संरक्षक खटाएको छ । तर, संरक्षणका लागि खटाइएका संरक्षक विमानस्थलमा बस्दैनन् ।

१८ वर्षअघि पूर्णरुपमा बन्द भएको मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न भन्दै ४ वर्ष पहिले परीक्षणका लागि जहाज उडाइएको थियो । तर, परीक्षण उडान गरिएको ४ वर्ष बितिसक्दा समेत न त विमानस्थल नै सञ्चालन हुन सकेको छ न त पुनः सञ्चालन हुने निश्चित नै छ ।

विमानस्थल पुनः सञ्चालनमा ल्याउन सक्ने हो भने ओझेलमा परेका सुदूरपश्चिमका पर्यटकीय क्षेत्रका विकासमा टेवा पुग्नुका साथै कञ्चनपुरको व्यापार व्यवसाय पनि फस्टाउने व्यवसायीहरुको भनाई छ ।

तत्कालिन सरकारमा रहेका मन्त्रीहरुले समेत पर्यटन क्षेत्रको विकासका लागि हवाई यातायात महत्वपूर्ण रहेको भन्दै विमानस्थल पुनः सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै आएका छन । तर, हालसम्म पनि विमानस्थल सञ्चालन हुन सकेको छैन ।

देशकै पश्चिमी सीमानाकामा रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा सम्बन्धित निकायले चासो देखाएको छैन । कञ्चनपुरलाई पर्यटन क्षेत्रको रुपमा विस्तार गर्न विमानस्थल सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।