
कविराज घिमिरे
धनकुटा, असोज २८ । धनकुटाका नगरपालिका आसपासकै बासिन्दा दूषित पानी उपभोग गर्न बाध्य भएका छन् ।
खानेपानीको उपयुक्त स्रोत नहुँदा तथा भएका स्रोत पनि आर्थिक अभावले संरक्षण गर्न नसक्दा स्थानीयबासिन्दा दूषित पानी पिउन स्थानीय बाध्य भएका हुन् ।
धनकुटा नगरपालिका–१५ स्थित छिम्सुवाका बासिन्दा बर्षौंदेखि तमोर नदीको दुषित पानी उपभोग गर्न बाध्य छन् । स्थानीयले पानी भर्ने स्थानभन्दा करिब एक किलोमिटर माथि शव दाहस्थल छ । यो गाउँका करिव ४० परिवार हिउँद र बर्खामा समेत घाटकै पानी पिउन बाध्य छन् ।
नदीले बगाएर ल्याउने लेदो, ढुंगा, माटो, काठपातसहितको दूषित पानी स्थानीयले प्रशोधनसमेत नगरी सोझै पिउने गरेका छन् । गत वर्ष तीन किलोमिटर टाढाबाट पानी ल्याउन पहल गरिए पनि रकम अभावले काम गर्न नसकिएको स्थानीयले बताएका छन् ।
त्यसैगरी पिउन र सिंचाई सुविधा उपलब्ध गराउने उद्देश्यसहित जिल्ला कृषि विकास कार्यालयले निर्माण गरेको पम्पिङ सिंचाई आयोजना पनि विद्युत भोल्टेज अभावका कारण सञ्चालनमा आउन सकेको छैन ।
छिम्सुवामा जस्तै धनकुटाका तमोर तथा अरुण नदी किनारमा बसोवास गर्ने ५० प्रतिशतभन्दा बढी परिवार शुद्ध खानेपानीको अभावमा नदीकै दुषित पानी पिउन बाध्य छन् । सिंचाईका लागि समेत पानी अभाव भएकाले कृषि योग्य जमिन बाँझिने गरेको स्थानीयको गुनासो छ ।
यता, खानेपानी, सरसफाई क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयले खानेपानीका लागि पर्याप्त कार्यक्रम रहेको जनाएको छ । खोला किनारका बासिन्दाका लागि बेग्लै कार्यक्रम नरहे पनि माग आएको खण्डमा मुल खोजेर तथा लिफ्ट प्रबिधिबाट पनि पानी बितरण गर्न सकिने कार्यालयका सिनियर डिभिजन ईन्जिनियर तुल्सी बस्नेत बताउँछन् ।
कार्यालयले खानेपानीका लागि पर्याप्त कार्यक्रम भए पनि सो क्षेत्रबाट माग नै नआएको जनाएको छ । वर्षौंअघिदेखि दूषित पानी पिउन बाध्य नदी किनारका बासिन्दालाई स्वच्छ पानी दिलाउने व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्