Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


अटोरिक्सा भित्रिएपछि परम्परागत रिक्सा व्यवसाय विस्थापन हुँदै


0
Shares

धनगढी, असोज २९ । स्थानीय बजारमा बर्षौंदेखि फस्टाएको परम्परागत तीनपाङ्ग्रे रिक्सा व्यवसाय विस्थापन हुने अवस्थामा पुगेको छ ।

यससँगै दैनिक रिक्सा चलाएर हुने कमाइले जीविकोपार्जन गर्दै आएका विपन्न समुदायका मजदुर समस्यामा परेका छन् । पछिल्लो पटक बजार क्षेत्रमा इलेक्ट्रिक अटोरिक्सा सेवा सुरु गरिएपछि परम्परागत रिक्सा विस्थापन हुने अवस्थामा पुगेका हुन् ।

रिक्सामा चढ्ने यात्रु नपाउँदा व्यवसाय विस्थापन हुने अवस्थामा पुगेकाले जीविका चलाउन समस्या भएको गुनासो रिक्सा चालक चन्दनकुमार देवले गरे ।

‘पहिले धनगढी बजारमा एक हजार २०० तीनपाङ्ग्रे रिक्सा थिए,’ देवले भने, ‘अटोरिक्सा सेवा सुरु भएपछि अहिले एक डेढ सय रिक्सा मात्र छिटपुट रुपमा चलेका छन् ।’

चलिरहेका रिक्साले यात्री समेत पाउन छाडेको गुनासो देवले गरे । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने व्यवसायका रुपमा रिक्सा व्यवसायलाई लिइने गरिएको थियो ।

धनगढी बजारको स्थापनाकालदेखि नै बजार क्षेत्रमा यात्रुको सेवा गर्ने मुख्य साधनका रुपमा परम्परागत ती रिक्सा थिए ।

सहरी क्षेत्रमा इ–रिक्सा व्यवसाय फस्टाउँदा तीनपाङ्ग्रे रिक्सा व्यवसाय मात्र नभई यसअघि सञ्चालनमा रहेको नगर बस सेवा पनि हाल बन्द भइसकेको छ । धनगढी बजारका सडकमा इलेक्ट्रिक अटो रिक्सा गुड्न थालेसँगै आवागमन भने निकै सहज बनेको यात्रु बताउँछन् ।

यद्यपि इ–रिक्सा व्यवसायलाई उपमहानगरपालिका र यातायात व्यवस्था कार्यालयले उचित रुपमा व्यवस्थापन गर्न नसक्दा कतिपय समयमा विभिन्न समस्या सिर्जना हुने गरेका छन् ।

पछिल्लो दुई वर्षयता धनगढी उपमहानगर क्षेत्रमा एक हजारभन्दा बढी इ–रिक्सा सञ्चालन भइरहेकामा थपिने क्रम अझै रोकिएको छैन । ‘इलेक्ट्रिक अटोरिक्सा किन्ने क्षमता आफूसँग छैन,’ नेपाल रिक्सा तथा ठेला सम्बद्ध श्रमिक सङ्घ कैलालीका अध्यक्ष लालबहादुर कामीले भने, ‘परम्परागत रिक्सा चलाउँदा अब यात्रु नपाउने समस्या देखिएपछि घरपरिवारको पेट पाल्न समस्या भएको छ ।’

यातायात व्यवसायमा देखिएको प्रतिश्पर्धाले सर्वसाधारणलाई आवागनमा सहज भए पनि विपन्न समुदायका रिक्सा मजदुर भने यसको प्रत्यक्ष मारमा परेका छन् । (रासस)