१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत प्रस्थान


0
Shares

काठमाडौं, असोज २९ । भारतको गोवामा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री दाहाल भारत भ्रमणमा गएका हुन् ।

सम्मेलनका क्रममा गोवामा रहँदा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनका राष्ट्रपति सिसँग शनिबार साँझ र भारतीय समकक्षीसँग आइतबार भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री दाहालले छिमेकीसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकतामा राखेको प्रष्ट्याउँदै चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि पुनः अनुरोध गर्ने जनाइएको छ ।

त्यसैगरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल श्रीसेना, दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा, ब्राजिलका राष्ट्रपति मिसेल टेमर र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग प्रधानमन्त्री दाहालको द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र÷सरकार प्रमुखको बैठक एवं ब्रिक्स विमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री दाहाल सम्मेलनअघि आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालका खाडीका प्रयास (बिमस्टेक) सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा समेत सहभागी हुनेछन् ।

सम्मेलनमा नेपालले भूपरिवेष्ठित राष्ट्रहरुको समस्या र अन्तर्देशीय सम्पर्क सञ्जालको विषयलाई प्राथमिकता दिने भएको छ ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका अनुसार नेपालले सम्मेलनमा सम्पर्क सञ्जाल र भूपरिवेष्ठित देशको समस्यालाई प्राथमिकताका साथ उठाउने छ ।

सम्मेलनले ब्रिक्स–विमिस्टेक दुई समूहबीच साझेदारीका क्षेत्र पहिल्याउन महत्वपूर्ण अवसर प्रदान गर्ने आशा गरिएको उनले बताए ।

ब्रिक्सको पहिलो सम्मेलन सन् २००९ र पछिल्लो (सातौँ) सम्मेलन सन् २०१५ मा रुसमा भएको थियो ।