कैलाली, चैत २० । नयाँवर्षको पूर्वसन्ध्यामा ‘एसटीएस रात्रिकालिन पेनाल्टी सुटआउट’ प्रतियोगिता योपटक पनि हुने भएको छ ।
नयाँवर्षको अवसर पारेर २०६९ सालदेखि धनगढीमा सो प्रतियोगिता हुँदै आएको छ ।
योपटक प्रतियोगिताको सातौं संस्करण हुन लागेको हो ।
बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले अघिल्ला वर्षहरुमाजस्तै योपटक पनि यही चैत ३० गते रात्रिकालिन पेनाल्टी सुटआउट हुने जानकारी दिए ।
प्रतियोगितामा ३२ वर्षभन्दामाथिका उमेर समूहलेमात्रै सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार पाउने संयोजक श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको सबैभन्दा पाको उमेरका खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट ‘स्कोरर’ले माइक्रोम्याक्स कम्पनीको मोबाइल पाउने जनाइएको छ ।
प्रतियोगिता अवलोकनका लागि आउनेहरुमध्ये गोलाप्रथाबाट एकजनालाई होन्डा कम्पनीको एउटा स्कुटर प्रदान गरिनेछ । दर्शकहरुले ५० रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था रहेको संयोजक श्रेष्ठले बताए ।
प्रतियोगिता धनगढीस्थित ओम प्यालेसमा चैत ३० गते साँझ सुरु भइ राति १२ बजे नयाँवर्ष २०७६ लाई स्वागत गर्दै समापन गरिने जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्