१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


हात्तीले कुल्चेर महिलाको मृत्यु, जंगलीहात्तीको बथानले कन्चनपुरमा आतंक


0
Shares

                                                                   फाइल फोटो

भीमदत्तनगर, असोज २९ । जंगलीहात्तीको आक्रमणबाट कन्चनपुरको बेलौरी नगरपालिका–१५ रामघाटका ३५ वर्षीया सुन्दरी चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ ।

श्रीमान् आशाराम चौधरीसित साइकल चढेर शंकरपुरको चानँदेउ आउनेक्रममा स्थानीय गोरखनाथ सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए ।

जंगलको बाटोमा साइकलयात्रा गरिरहेका चौधरी दम्पतीलाई जंगलीहात्तीले लखेट्दा मृतकका श्रीमान् आशाराम साइकल छाडेर भाग्न सफल भएपनि श्रीमती सुन्दरीको भने हात्तीले कुल्चेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हात्तीको बथानबाट भाग्न सफल भएका आशारामले जंगलछेउकै गाउँ पुगेर घटनाबारे जानकारी गराएका थिए ।

प्रहरीकाअनुसार घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय बेलौरी र शंकरपुर प्रहरीचौकीको टोली घटनास्थल पुगेको छ ।

विगत तीन सातायता कन्चनपुरका विभिन्न क्षेत्रमा भारतको दुधुवा नेसनल पार्कका जंगलीहात्तीले आतंक नै मच्चाउँदै आएका छन् ।

करिब ३५/४० ओटाको बथानमा रहेको हात्तीको समूहले कन्चनपुरको करिब १५० बिगाहाको धानबाली नस्ट गरिसकेको छ ।

हात्तीपीडितले जिल्ला वन र शुक्लाफाँटा आरक्ष कार्यालयमा क्षतिपूर्तिका लागि उजुरीसमेत दिएका छन् ।

हात्तीले बेलौरी, पुनर्वास, त्रिभुवनबस्ती, शंकरपुर र भीमदत्तनगरपालिकाका विभिन्न वडामा बढी क्षति पुर्‍याएका छन् ।

जंगलीहात्ती धपाउन स्थानीय प्रशासन र स्थानीयबासी जुटिरहेको तर नियन्त्रणमा ल्याउन सकिएको छैन । रासस