Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


लागूऔषध मुद्दामा मृत्युदण्ड पाएका चेतबहादुरमाथि पुनर्विचार गर्न दाहालको आग्रह


0
Shares

काठमाडौं, असोज ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरसेनाबीच गोवामा भेटवार्ता भएको छ ।

आइतबार बिहान गोवाको लिला होटलमा भएको भेटवार्तामा दुई देशबीच सिधा हवाई सेवा सञ्चालन र स्थगित सार्क शिखर सम्मेलन शीघ्र आयोजना गर्नेबारे छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री दाहालले भौगोलिक दृष्टिले नेपाल र श्रीलंका केही टाढा रहेपनि दुवै देशले दक्षिण एसियाको विकास र सम्बन्धमा मिलेर भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले नेपाल र श्रीलंकाबीच सिधा हवाई सेवा सञ्चालनमार्फत् दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने धारणा राखे ।

भेटमा प्रधानमन्त्रीले सार्क शिखर सम्मेलन शीघ्र आयोजना गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सार्क राष्ट्रहरुबीच साझा धारणा आवश्यकता रहेको बताए ।

भेटमा प्रधानमन्त्री दाहालले लागूऔषधको अभियोगमा श्रीलंकाले ललितपुरका चेतबहादुर थापालाई दिएको मृत्युदण्डको फैसलाबारे पूनर्विचार गर्न सिरसेनासँग अनुरोध गरेका छन् ।

प्रधानमन्त्री दाहालले श्रीलंकाली राष्ट्रपतिले संविधानअनुरुप पाएको अधिकार प्रयोग गरी थापाको मृत्युदण्डको सजाय कटौती गर्न सिरसेनासँग आग्रह गरेका हुन् ।

भेटका अवसरमा प्रधानमन्त्री दाहालले नेपालबाट श्रीलंकालाई ट्रान्जिट बनाएर खाडी मुलूकहरुमा नेपाली महिलाहरु लगिने गरिएकोमा उक्त कार्य रोक्नका लागि पनि सिरसेनासँग अनुरोध गरेका छन् ।

भेटमा श्रीलंकाली राष्ट्रपति सिरसेनाले नेपालसँग श्रीलंकाको सम्बन्ध मैत्रीपूर्ण रहेको भन्दै सार्क सम्मेलन आयोजनाका लागि दुवै देश मिलेर पहल गर्नुपर्ने धारणा राखे । उनले नेपालले राखेको चासोप्रति श्रीलंका सकारात्मक रहेको बताए ।