कञ्चनपुर, कार्तिक १ । कञ्चनपुरको महेन्द्रनगरमा नयाँ यातायात प्रालि सञ्चालनमा आएपछि यहाँका यातायात व्यवसायीबीच विवाद चुलिएको छ ।
नमस्ते शुक्लाफाँटा यातायात प्रालि खुलेपछि यहाँका महाकाली, पवनदूत र महाकाली टेम्पु यातायात व्यवसायी समितिबीच विवाद चुलिएको हो ।
विवादकै बीच पुराना यातायात व्यवसायीले सोमबारबाट कञ्चनपुर भएर चल्ने सबै सार्वजनिक यातायात साधन ठप्प पारेका छन् ।
सञ्चालनमा आएका तीन समितिले प्रक्रियागत ढंगबाट यातायात सञ्चालन हुनुपर्ने बताएका छन् भने नमस्ते शुक्लाफाँटाले सिन्डिकेट हटेको भन्दै आफूले निर्वाधरुपमा बस सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ ।
नयाँ र पुराना समितिहरुबीच प्राविधिक विषयलाई लिएर शुरु भएको विवाद बस तोडफोडसम्म पुगेको छ । नमस्ते शुक्लाफाँटा यातायात प्रालिको बस आइतबार बेदकोट नगरपालिका क्षेत्रमा तोडफोड गरिएको थियो ।
तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले महाकालीका तीनजना पदाधिकारीलाई पक्राउ गरेको छ । व्यवसायीहरुले पक्राउ परेकाहरुलाई विना शर्त रिहाईको माग गर्दै यातायात बन्द आह्वान गरेका हुन् । समितिहरुबीचको द्वन्द्वका कारण यात्रु भने मारमा परेका छन् ।





प्रतिक्रिया दिनुहोस्