
काठमाडौं, कात्तिक १ । जथाभावी फोहर फालेको पाएपछि काठमाडौं महानगरपालिकाले जरिवानास्वरुप रु ७१ हजार रकम असुल गरेको छ ।
वातावरण महाशाखा प्रमुख रवीनमान श्रेष्ठकाअनुसार दसैंकाबेलामा स्थानीयबासीले अटेर गरी जथाभावी फोहर फालेपछि महानगरले कारबाहीस्वरुप सो रकम असुल गरेको हो ।
कालीमाटी, थापाथली, कुलेश्वर, टेकु, कलंकीको विभिन्न स्थानमा जथाभावी फोहर फाल्ने १५ जनाबाट उक्त रकम असुल गरिएको प्रमुख श्रेष्ठले बताए ।
चाडबाडका समयमा बढी फोहर हुने हुँदा कामपाले दसैंको समयमा सकेसम्म कम फोहर गर्न र घरबाट निस्केको फोहरलाई जथाभावी नफाल्न दसैं सुरु हुनुपूर्व नै अनुरोध गरेको थियो ।
फोहरको प्रकृति, त्यसले नागरिकलाई पारेको प्रभाव र एकै व्यक्तिले सार्वजनिक स्थानमा पटक–पटक फोहर फालेको पाएपछि कामपाले जरिवानास्वरुप रु पाँच सयदेखि रु २५ हजारसम्म असुल गरेको जनाएको छ ।
चाडबाडको समयलाई ध्यानमा राखी कमपाले बिहान ६ बजेदेखि मध्यराति ११ बजेसम्म प्रत्येक वडामा अनुगमन टोली परिचालन गरिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्