काठमाडौं, कात्तिक १ । सरकारले पुनः तिहारलक्षित बजार अनुगमन सुरु गरेको छ ।
सोमबारदेखि सरकारी टोलीले तिहारलक्षित बजार अनुगमनलाई तीव्रता दिएको हो । अनुगमन गरेर अनियमतिता भेटिएका पसल एवं उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यापारीमाथि कारबाही भने झारा टार्नेमात्र भैरहेको छ ।
आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सोमबार काठमाडौंका विभिन्न मिठाइ पसलमा अनुगमन गर्यो ।
टोलीले मिठाइ पसलहरुमा विभिन्न कैफियत फेलापार्यो । काठमाडौंको न्यूरोडमा अवस्थित रामेश्वरम मिठाइ पसलमा अनुगमनकाक्रममा म्याद नाघेका विभिन्न सामग्री फेलापारी नस्ट गरियो ।
यस पसलबाट टोलीले म्याद नाघेका १५ प्याकेट सुजी तथा २५ प्याकेट अमचुर चटनी पाउडर र लेबल नभएका ४ प्याकेट अदुवाको धुलो नस्ट गरेको छ ।
उक्त पसलको किचेनसँगै भाँडा माझ्ने ठाउँ रहेकोले टोलीले तुरुन्त हटाउन निर्देशन पनि दिएको छ ।
न्यूरोडमै अवस्थित टिपटप ब्रान्डको मिठाइ पसलमा अनुगमन गर्दा पनि खाद्य रङको प्रयोगपछि खानेकुरा पकाएको पाइएको छ ।
खाद्यपदार्थमा रङ प्रयोग गरेपछि पकाउन नहुने खाद्य निर्देशिकामा उल्लेख गरिएपनि रङ प्रयोग गरेर खानेकुरा पकाइएको पाइएको हो । त्यस्तै, यस पसलमा खानेपानीको ट्यांकी पनि दुषित पाइयो ।
न्यूरोडकै आँगन मिठाइ पसलमा पनि सरसफाइमा लापरबाही पाइएसँगै सफाइमा विशेष ध्यान दिन टोलीले निर्देशन दिएको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका अनुगमन अधिकृत ढुण्डीराज पोखरेलले तिहारलाई लक्षित गरी त्यससँग सम्बन्धित पसलहरुमा अनुगमनलाई केन्द्रित गरिने बताए ।
उपभोक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधव तिमिल्सिनाले बजार अनुगमन जारी रहेपनि व्यवसायीले उपभोक्ता हितसँग अझैपनि खेलबाड गरिरहेको बताए ।
सरकारले दोषी पाइएकालाई कारबाहीको दायरामा ल्याउन नसक्दा बजारमा अझैपनि समस्या देखिएको उनको भनाइ छ ।
सरकारले गत भदौ महिनामा गरेको विशेष अनुगमनकाक्रममा संकलन गरेको खाद्यपदार्थको ल्याब परीक्षणको रिपोर्ट अहिलेसम्म पनि आएको छैन ।
ल्याब परीक्षण गर्न १ हप्तादेखि १५ दिनको समय लागेपनि अहिलेसम्म रिपोर्ट आउन नसक्दा कारबाही गर्न नसकिएको सरकारी भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्