काठमाडौं, कात्तिक ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको अन्तिम मस्यौदा तयारीको चरणमा रहेको बताएका छन् ।
सरकारको काम–कारबाहीको रुपरेखा र भारतको गोवामा भएको ‘ब्रिक्स– बिमस्टेक आउटरिच’ सम्मेलनमा भाग लिनेक्रममा भएका भेटवार्ता र नेपालका तर्फबाट त्यहाँ प्रस्तुत् गरिएका धारणाबारेमा बुधबार सदनलाई जानकारी गराउनेक्रममा उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री दाहालले भने–‘नेपालको संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने कार्यलाई सरकारले उच्चप्राथमिकता दिइएको छ, निर्वाचनसम्बन्धी कानुन र मतदाता कानुनलाई अन्तिमरुपम दिने काम भइरहेको छ ।’
संविधानका अन्तरवस्तुकाबारेमा फरकमत राखेर आन्दोलन र असन्तुष्ट पक्षलाई सम्बोधन गर्ने कामलाई सरकारले उच्चप्राथमिकता दिएको बताउँदै उनले भने–‘संविधानमा आन्दोलनरत् पक्षलाई सहमतिमा ल्याएर निर्वाचनमा जाने कामलाई पहिलो प्राथमिकतामा राखेको छ ।’
प्रधानमन्त्री दाहालले आगामी छठसम्ममा संविधान संशोधन गर्ने तयारीका साथ सरकारले गृहकार्य गरिरहेको जानकारी दिँदै–‘अलग–अलग छलफल गरेर संविधान संशोधनमा सरकारकेन्द्रित भएको छ’–भने ।
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक राखेर प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा जोड दिन सम्बन्धित पक्षलाई निर्देशन दिइएको बताउँदै उनले सोक्रममा आफूले राष्ट्रिय गौरवका आयोजनाहरु सिक्टा सिँचाइ, रानीजमरा सिँचाइ, मेलम्ची खानेपानी, बीपी कोइराला क्यान्सर अस्पतालको निरीक्षण गरेको जानकारी पनि दिए ।
प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माण गर्नेक्रममा चार लाख २० हजार ८६२ पीडितलाई आवास बनाउन पहिलो चरणको अनुदान प्रदान गरिसकिएको बताउँदै पीडितलाई रु तीन लाख राहत पुर्याउने सरकारले घोषणा गरेको स्मरण गराए ।
प्रशासनको उच्चतहमा सक्षम व्यक्तिलाई पु¥याउन मूल्यांकनसम्बन्धी व्यवस्था राखेर ऐनमा सुधार गरिएको, हेलो सरकारलाई क्षेत्रीयस्तरमा लैजाने काम सुरु गरिएको उनले बताए ।
संघीयता कार्यान्वयन उच्चप्राथमिकता दिएअनुरुप स्थानीय निकाय पुनःसंरचना आयोगलाई सरकारले आवश्यक निरन्तर सहयोग पुर्याउँदै आएको बताउँदै प्रधानमन्त्री दाहालले मुलुकमा उपयुक्त राजनीतिक वातावरण बनाउन लागिपरेको बताए ।
प्रधानमन्त्री दाहालले वि.सं. २०७४ माघ ७ गतेसम्ममा नयाँ संसदको निर्वाचन गर्न नसकेमा मुलुक संकटमा पर्नसक्नेप्रति संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको गम्भीर ध्यानाकर्षण गराउँदै सबै पक्षसँग वार्ता र संवादको माध्यमबाट सहमतिमा पुगेर निर्वाचन गरी छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल र नेपालीको हितलाई सर्वाेपरि राखेको छु
प्रधानमन्त्री दाहालले आफूले हालै गरेको ‘भारत भ्रमणबाट साझा हित र समृद्धिमा योगदान पुगेको छ’ भन्दै ‘ब्रिक्समा नेपालको उपस्थिति विशेष महत्वपूर्ण रहेको छ’–भने ।
नेपालको तर्फबाट उर्जाविकास, क्षेत्रीय सम्पर्क सञ्जाल र जनस्तरमा सम्बन्ध विस्तारलाई आफूले प्राथमिकताका साथ उठाएको जानकारी दिँदै भारत भ्रमणमा आफूले धेरै विषय उठाउनुभन्दा विश्वासको वातावरण र भएका सम्झौता कार्यान्वयनमा जोड दिएको बताए ।
प्रधानमन्त्री दाहालले भने–‘उच्चस्तरको कूटनीतिक मर्यादा राखेर नेपाल र भारतबीच रहँदै आएको घनिष्ठ सम्बन्धलाई सुदृढ तुल्याउन योगदान मिलेको छ ।’
‘नेपाल र नेपालीको हितलाई सर्वाेपरि राखेर दुई देशको सम्बन्धलाई उचाइमा राख्ने काम भएको छ’–उनले भने ।
वर्तमान सरकारले चालेको कदमबारेमा भारतीय उच्चनेतृत्वलाई भ्रमणकाक्रममा आफूबाट स्पस्ट पार्ने काम भएको पनि उनले बताए ।
ब्रिक्स–बिमस्टेक आउटरिच सम्मेलनका क्रममा त्रिदेशीय साझा अवधारणाका पक्षमा आफूले राखेको प्रस्तावलाई भारत र चीनले सकारात्मकरुपमा लिएको प्रधानमन्त्री दाहालले बताए ।
प्रधानमन्त्री दाहालले भने–‘त्यो भेट, त्यो एउटा सुखद् संयोग र अवसर थियो, मलाई गर्व छ, त्यो अवसर मिलेको र सदुपयोग गर्न पाएकोमा, प्लान गरेको भए त्यो सम्भव थिएन । त्यो भेटबाट दुबै छिमेकीसँग सन्तुलित परराष्ट्र नीति कायम गर्ने बाटोमा योगदान पुगको छ । अरुले प्रशंसा गरेका विषयलाई नेपालले किन आत्मसात् गर्न नसकेको होला ? त्यहाँ भएका छलफल र विचारविमर्श नेपालका लागि निकै महत्वपूर्ण र दीर्घकालीन हितका पक्षमा थिए ।’
प्रधानमन्त्री दाहालले भने–‘स्वतन्त्र परराष्ट्र नीति कायम गर्न सरकार प्रतिबद्ध छ, संविधान कार्यान्वयनको निम्ति दलहरुबीच नयाँ सहमति कायम गरेर अघि बढ्न आवश्यक छ, संविधान कार्यान्वयनलाई सत्तापक्ष र विपक्षको विषय नबनाऔं ।’
संसदको अर्काे बैठक यही कात्तिक ४ गते दिउँसो १ बजे बस्नेछ । रासस









प्रतिक्रिया दिनुहोस्