इनरुवा, कात्तिक ४ । सुनसरीको नरसिंह र रामनगरभुटाहा गाविस जोडने सुनसरी खोलाको पुल निर्माण कार्य सुरु भएको सात वर्ष भएपनि निर्माण कार्य सम्पन्न भएको छैन ।
पुल निर्माण गर्नका लागि २०६७ सालदेखि कार्य सुरु गरेको भए पनि अहिलेसम्म तीनवटा पिलर र आधा ढलान बाहेकको कार्य सम्पन्न नहुँदा दुईवटा गाविस जोड्नका लागि डुङ्गा र बाँसको चचरी बाहेकको विकल्प नरहेको स्थानीयवासीले बताएका छन् ।
स्थानीयवासीलाई आवतजावतमा सजिलो होस् भन्ने उद्देश्यले सात वर्षअगाडि पुल निर्माण कार्य सुरु गरेको र तीन वर्ष अर्थात् २०७० सालसम्ममा पुल निर्माण कार्य सम्पन्न गर्ने भने पनि २०७३ सालसम्ममा पनि कार्य सम्पन्न नभएका कारण स्थानीयवासीलाई आवतजावत गर्नका लागि समस्या भएको रामनगरभुटाहाका गफार अन्सारीले बताए ।
सो क्षेत्रमा सुनसरी खोलाको बाढीका कारण समस्या हुनुका साथै आवतजावत गर्नका लागि पुल अभावमा स्थानीयवासी ज्यान जोखिममा राखेर जानआउन बाध्य भएका छन् ।
जिल्लाका ठूला योजनामध्ये एउटा ठूलो आयोजनाका रुपमा रहेको उक्त पुलको निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले आक्रोशसमेत व्यक्त गरेका छन् । पुल निर्माणका लागि ठेक्का पाएको बिपी कन्स्ट्रक्सन कम्पनीका सञ्चालक बद्री सिग्देलको चरम लापरबाही र सरकारी कर्मचारीको बेवास्ताका कारण पुल निर्माण कार्यमा ढिलाइ भएको स्थानीयवासी विद्यासागर नुन्दीले बताए ।
हुलाकी राजमार्गमा पर्ने भुटाहा र नरसिंहको सुनसरी खोलामा पुल निर्माणमा ढिलाइ भएका कारण बाँसको चचरी र डुङ्गामा आवतजावत गर्नुपर्ने बाध्यता छ । नरसिंहको अधिकांश स्थानीयवासीको कारोबार तथा हाटबजार भुटाहा भएका कारणले पुल निर्माण कार्य आवश्यक रहेको स्थानीयवासी बबाजी मण्डलले बताए । करिब रु ६ करोड लागतमा निर्माण कार्य सुरु भएकोमा पछिल्लो एक वर्षयता कुनै काम नभएका कारण स्थानीयवासी सशङ्कित भएका छन् ।
स्थानीयवासीले पुल निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि पटकपटक ताकेता र आग्रह गरेको भए पनि निर्माण कार्यमा कुनै तदारुकता नदेखाएको स्थानीयवासीको आरोप रहेको छ । यता पुल ठेकेदार कम्पनी सम्पर्कबाहिर रहेको स्थानीयवासीको भनाइ छ । पुल निर्माणमा सबैको ध्यान जानु जरुरी देखिन्छ । नत्र राज्यको लगानी बालुवामा पानी खन्याए जस्तै हुनेछ । (रासस)





प्रतिक्रिया दिनुहोस्