Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


लोकमानविरुद्ध महाअभियोग प्रस्ताव पेस हुने भनिएको संसद बैठक स्थगित


0
Shares

काठमाडौं, कात्तिक ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पेस गर्ने भनिएको विहीबारको व्यवस्थापिका–संसद बैठक स्थगित भएको छ ।

संसद सचिवालयले कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल गर्न दलहरुले समय मागेपछि बैठक स्थगित गरिएको जनाएको छ । अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्नेछ ।

विहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठकमा महाअभियोग प्रस्ताव पेस गर्ने तयारी गरिएको थियो ।

सभामुख ओनसरी घर्तीले पहिलो बैठकमा महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने र विहीबारै अर्को बैठक बोलाएर त्यसबारे छलफल गराउने तयारी गरेकी थिइन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ जना सांसदले हस्ताक्षर गरेर बुधबार कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।

संसद सचिवालयले दर्ता भएको प्रस्तावबारे राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुधबारै जानकारी गराएको थियो । योसँगै अख्तियार प्रमुख कार्की निलम्बित भइसकेका छन् ।

Skip This