काठमाडौं, चैत १९ । एएफसी कप फुटबलको पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबले बुधबार बंगलादेशको अबहानी लिमिटेडसँग खेल्दैछ ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।
नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङ र कप्तान विराज महर्जनले खेल जित्दै प्रतियोगितामा सुखद् सुरुआत गर्ने लक्ष्य लिएको बताएका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक लोप्साङले पहिलो खेल कठिन हुने भएपनि घरेलु मैदानको फाइदा उठाउँदै दोस्रो चरणमा पुग्ने लक्ष्य रहेको बताए ।
कप्तान महर्जनले पनि टिम शारीरिक र मानसिकरुपमा तयार रहेकाले परिणाम आफ्नै पक्षमा पर्ने बताए ।
यसैगरी, पाहुना टोली अबहानीका प्रशिक्षक मारियो लेमोसले नेपालमा खेल्न कठिन भएपनि परिणाम आफ्नो पक्षमा पर्नेमा आशावादी रहेको प्रतिक्रिया दिए ।
एएफसी कप फुटबलको समूह चरणका खेलहरु ‘होम एन्ड अवे’का आधारमा हुँदैछन् ।
समूह ‘इ’मा रहेको मनाङले अबहानीसितको अवे खेल आगामी जुन १९ तारिखमा ढाकास्थित बंगबन्धु रंगशालामा खेल्नेछ ।








प्रतिक्रिया दिनुहोस्