काठमाडौं, कात्तिक ४ । यस वर्ष पनि एसियाली विकास बैंक (एडीबी)को लगानीमा सन्चालित परियोजनाको कार्यप्रगति सन्तोषजनक रहन सकेको छैन ।
एडीबीले विहीबार अर्थ मन्त्रालयमा गरेको त्रिपक्षीय समीक्षा बैठकमा एडीबीको लगानीमा सन्चालनरत् कुल ३२ ओटा परियोजनाको कार्यप्रगतिमा सुस्तता रहेको जनाइएको हो ।
ती परियोजनामा एक अर्ब ७३ करोड अमेरिकी डलर सम्झौता भएकोमध्ये सन् २०१६ को चौथो चौमासिकसम्म एक अर्ब १४ करोड ५० लाख अमेरिकी डलर बराबर अझै खर्च हुन नसकेको एडीबीले जनाएको छ ।
एडीबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विद्युत् प्रसारणलाइनको निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
परियोजनामा कार्यरत् कर्मचारीको बारम्बार सरुवा, परियोजनामा पर्ने जग्गा अधिग्रहण तथा वातावरणीय सफाइजस्ता कारणले परियोजना कार्यान्वयनमा सुस्तता आएको एडीबीले जनाएको छ ।
एडीबीका उपमहानिर्देशक दिवेश शरणले सन् २०१६ को लक्ष्यप्राप्तिका लागि सरोकारपक्ष गम्भीर भएर लाग्नुपर्ने बताए ।
एडीबीले परियोजनाको कार्यप्रगति समीक्षाको आधारमा लगानी सम्झौता बृद्धि गर्ने नीति लिएको भन्दै नेपालले परियोजना कार्यान्वयनको कार्यक्षमता बलियो बनाउनु पर्ने र पुँजीगत खर्चमा सुधार ल्याउनुपर्नेमा जोड दिएको छ ।









प्रतिक्रिया दिनुहोस्