Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


नेपाल–भारतबीच बहुआयामिक सम्बन्ध : परराष्ट्रमन्त्री, भारतविरोधी भावना बढायो : बाबुराम


0
Shares

बनेपा, कात्तिक ५ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल– भारतबीचको सम्बन्ध बहुआयामिक भएको बताएका छन् ।

नेपाल समसामयिक अध्ययन केन्द्रले शुक्रबार धुलिखेलमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध’ विषयक गोष्ठीमा उनले भने–‘नेपाल–भारत सम्बन्धको विषय कुटनीतिक टेबुलमा हुनुपर्छ, यो सडकमा छलफल गर्ने विषय होइन ।’

मन्त्री महतले नेपालको आवश्यकता र स्वार्थका लागि सरकार चिन्तित भएको बताउँदै नेपाल–भारतबीच विगतमा देखिएको तिक्तता क्रमशः हट्दै अहिले विश्वासको सम्बन्ध स्थापित हुन लागेको बताए ।

‘हामीले विदेशी नीतिलाई आन्तरिक राजनीति गर्ने भाँडो बनाउनु हुँदैन’–उनले भने–‘नेपालको विषयमा चीन र भारतसँग समानखालको कुराकानी भएको छ ।’

मन्त्री महतले सार्क शिखर सम्मेलन रोकिनुमा अध्यक्ष राष्ट्रको हैसियतले नेपालको कमजोरी नभएको बताए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्क राष्ट्रमा देखिएको समस्या न्यूनीकरणका लागि ठूलो राष्ट्रको हैसियतले भारतले र अध्यक्ष राष्ट्रको हैसियतले नेपालले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उनले नेपालमा देखिएको अस्थिर राजनीतिको प्रभाव भारतमा पनि परेको उल्लेख गर्दै यसले नेपालमा भारतविरोधी भावना बढाएको बताए ।

नेपालका लागि भारतीय राजदूत रणजित रायले बलियो राजनीतिक समझदारी भएपछिमात्र नेपालको विकास प्राथमिकतामा पर्ने बताए ।

भारतका लागि प्रस्तावित नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारत सम्बन्ध विश्वमै अनुकरणीय भएको बताउँदै नेपालको पारवाहनको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

दुई दिनसम्म चल्ने सो गोष्ठीमा भारतका ६ र नेपालका २५ गरी कुल ३१ जना सहभागी छन् ।

गोष्ठीमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धसँग सम्बन्धित छुटाछुट्टै पाँचओटा कार्यपत्र प्रस्तुत् हुनेछ । रासस

Skip This