Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण पुरातत्व विभागले गर्ने


0
Shares

                                                                  फाइल फोटो

काठमाडौं, कात्तिक ५ । रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण पुरातत्व विभागले गर्ने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ सम्मिलित बैठकले यस्तो निर्णय गरेको प्रवक्ता रामप्रसाद थपलियाले बताए ।

‘विभागले दिएको नमुना ढाँचाअनुसारको काम प्राविधिक कारणले महानगरपालिकाले गर्न कठिन भएकाले मन्दिर पुनःनिर्माणको जिम्मेवारी विभागलाई दिने निर्णय भएको हो, विभागकै नमुना ढाँचाअनुसार मन्दिरको पुनःनिर्माण हुनेछ’–उनले भने ।

महानगरपालिकाले निर्माण गरेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण मापदन्डअनुसार नभएको भन्दै विभागले आपत्ति जनाएपछि केही समयदेखि मन्दिर पुनःनिर्माण अवरुद्ध भएको थियो ।

बैठकमा भएको सहमतिअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिरबाहेकका निर्माण गर्नुपर्ने सबै कामको निर्माण कार्य महानगरपालिकाले यथाशीघ्र कार्यान्वयन गर्ने/गराउने पूर्ववत् निर्णयलाई प्राथमिकता दिइने भएको छ ।

रानीपोखरीमा भाइटीका एवं छठपर्वका कार्यक्रम सहज बनाउन महानगरपालिकाले नेतृत्व लिइ आवश्यक व्यवस्थापन गर्ने/गराउने निर्णय भएको प्रवक्ता थपलियाले बताए ।

काठमाडौं दरबार क्षेत्रलाई सुव्यवस्थित बनाउने सम्बन्धमा गुरुयोजना तयार पार्नका लागि महानगरपालिकाले अध्ययन गराउने कार्य अघि बढाइने भएको छ ।

यसका लागि प्राधिकरणले महानगरपालिका र विभागलगायतका सम्बन्धित निकायसँग आवश्यक सहजीकरण एवं समन्वय गर्ने निर्णय भएको उनले सुनाए ।

काठमाडौं दरबार क्षेत्रमा बन्ने वा बन्दै गरेका मापदन्डविपरीतका निजी घरका सम्बन्धमा महानगरपालिका र विभागले अनुगमन गरी अनधिकृतरुपमा बन्न लागेको पाइएमा तत्काल निर्माणकार्य रोक्ने सहमतिसमेत बैठकमा भएको छ ।

काम रोकिएकोे प्रतिवेदन प्राधिकरणमा पठाउने सहमति पनि शुक्रबारको त्रिपक्षीय बैठकमा भएको छ । रासस