काठमाडौं, कात्तिक ५ । चालु आर्थिक वर्षको भदौ महिनामा उपभोक्ता मुद्रास्फीति ७ दशमलव ९ प्रतिशत रहेको छ ।
२०७३ साउन महिनामा ८.६ प्रतिशत पुगेको वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति २०७३ भदौ महिनामा ७.९ प्रतिशतमा ओर्लिएपनि मुद्रास्फीति अपेक्षितरुपमा घट्न नसकेको राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक स्थीतिमा जनाइएको हो ।
२०७२ भदौ महिनामा यस्तो मुद्रास्फीति ७.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा चिनी तथा चिनीजन्यपदार्थ, फलफूल, दलहन तथा गेडागुडी, मदिराजन्य पेयपदार्थ, मसला, लत्ताकपडा तथा जुत्ता र विविध वस्तु तथा सेवाहरुको मूल्य बृद्धिदर उच्च रहेकोले समग्र उपभोक्ता मुद्रास्फीतिदर अपेक्षितरुपमा घट्न नसकेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल–भारत मुद्रास्फीति अन्तर बढेको छ । २०७३ को भदौ महिनामा भारतको वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति ४.३ प्रतिशत रहेको छ भने नेपालको मुद्रास्फीति ७.९ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ३.६ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति अन्तर २.८ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह बृद्धिदर पनि घट्दै गएको छ । यस अवधिमा रेमिट्यान्स ६.६ प्रतिशतले बृद्धि भइ ११४ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.५ प्रतिशतले बृद्धि भएको थियो ।





प्रतिक्रिया दिनुहोस्