Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


लोकमानको विषयलाई लिएर अत्तालिहाल्नुपर्ने अवस्था छैन : पौडेल


0
Shares

                                                                       फाइल फोटो

दमौली, कात्तिक ६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयलाई लिएर अनावश्यक टिप्पणी गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

नेपाली कांग्रेस तनहुँद्वारा गाउँ र नगरका सभापतिहरुको एकदिने अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमको शनिबार दमौलीमा उद्घाटन गर्दै नेता पौडेलले यस विषयमा कांग्रेसको केन्द्रीय समितिभित्रै छलफल गरी एउटा निष्कर्ष निकाल्ने बताए ।

संविधानको कार्यान्वयन र तीनओटै तहको चुनावमा अगाडि बढ्नुपर्नेबेला एउटा व्यक्तिको विषयलाई लिएर सर्वत्र बहसको विषय बनाइएको भन्दै नेता पौडेलले चिन्तासमेत व्यक्त गरे ।

स्थानीय तह पुनःसंरचना आयोगले उपयुक्त संख्या निर्धारण गर्न नसकेको भन्दै पछिल्लोपटकको संख्याले पनि विवाद ल्याउने दाबी उनले गरे ।

मधेसी मोर्चाले राखेको जायज माग सम्बोधन गरी संविधानलाई कार्यान्वयनतर्फ अगाडि लैजान सबै दलहरु गम्भीर भएर लाग्नुपर्नेबेला आएको पौडेलले बताए ।

सांसद धु्रव वाग्लेले २०७४ को माघ ७ गतेभित्र तीनओटै तहको चुनाव नभए मुलुक गम्भीर संकटमा फस्ने बताए ।

नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने, पूर्वसभापति रघुनाथ पौडेल, कांग्रेस क्षेत्र नम्बर–१, २ र ३ का सभापति उदयराज गौली, राजेन्द्रकृष्ण श्रेष्ठ, किसान गुरुङ, कांग्रेस नेता जितप्रकाश आले, जिल्ला उपसभापति ताराराज राना, कांग्रेस नेत्री आशा थापालगायतकाले मुलुकभित्र देखिएका समस्या समाधान गर्न कांग्रेसले पहल थाल्नुपर्ने बताएका थिए । रासस

Skip This