फाइल फोटो
काठमाडौं, कात्तिक ८ । नेपाल कम्युनिस्ट पार्टी संयुक्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका —संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थनमा मतदान गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय समितिको आइतबार सम्पन्न बैठकले महाअभियोग प्रस्तावमाथि मतदान हुँदा त्यसको समर्थनमा मतदान गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावको समर्थनमा मतदान गर्न पार्टीका सांसदलाई निर्देशनसमेत दिएको सो पार्टीले जनाएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख केदारचन्द्र शर्माकाअनुसार बैठकले देश संघीयतामा गइसकेको अवस्थामा पार्टी विधानलाई संशोधन गरी संघीय संरचनामा परिमार्जन गर्ने निर्णयसमेत गरेको छ ।
पार्टीको सांगठनिक संरचना वडा, गाउँ नगरपालिका, जिल्ला, प्रदेश र केन्द्रमा गरी पाँच तहमा रहनेछ ।
नयाँ विधानअन्तर्गत् पार्टीका धेरै अधिकारलाई केन्द्रबाट प्रादेशिकस्तरमा स्थानान्तरण गरेको छ भने पार्टीका प्रत्येक निकाय समावेशी चरित्रका हुनेछन् ।
त्यसैगरी, बैठकले संविधानमा आवश्यक संशोधन गरी समयमै चुनावको वातावरण बनाउन माग गर्दै भूकम्पपीडितलाई यथाशीघ्र राहत र आवासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । रासस









प्रतिक्रिया दिनुहोस्