Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


महाअभियोगका सम्बन्धमा कांग्रेसले ‘हतारमा’ निर्णय नगर्ने


0
Shares

काठमाडौं, कात्तिक ९ । व्यवस्थापिका–संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव विधि र प्रक्रियाअनुसार नै अगाडि बढ्न दिनुपर्ने निर्णय गरेको छ ।

मंगलबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाअभियोगको प्रस्ताव संविधानअनुसार व्यवस्थापिका–संसदमा प्रवेश गरिसकेको र संविधानअनुसार न्यायिक निरुपणको बाटोमा रहेको भन्दै त्यसमा कुनै हस्तक्षेप नगर्ने नीति लिएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न बैठकले महाअभियोगको प्रस्तावमा महाअभियोग सिफारिस समितिलाई नै निष्पक्ष र स्वतन्त्ररुपमा काम गर्न दिनुपर्ने निष्कर्ष निकालेको नेता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

बैठकले महाअभियोगका सम्बन्धमा अरु पार्टीसँग परामर्श गर्न शीर्ष नेतालाई जिम्मेवारी दिएको छ । साथै पार्टीले हतारमा त्यस सम्बन्धमा कुनै निर्णय गरेर ह्विप जारी गर्नुपर्ने अवस्था नरहेको उनले बताए ।

बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले महाअभियोग प्रस्तावका सम्बन्धमा संसदमा समिति बनिसकेकाले तत्काल पार्टीले यसबारेमा कुनै निर्णय गर्नुपर्ने आवश्यकता नरहेको धारणा व्यक्त गरेका थिए ।

उनीहरुले महाअभियोगका सम्बन्धमा अरु पार्टीसँग छलफल गरेरमात्र निर्णय लिइने विचार व्यक्त गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

कांग्रेसले महाअभियोगका सम्बन्धमा संसदीय दलको बैठकमा पनि थप छलफल गर्ने जनाएको छ ।

यही कात्तिक ४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकले सरकार गठनकाबेला भएको सहमतिका आधारमा संविधान संशोधन गरेर संविधान कार्यान्वयनमा नेतृत्व लिने निर्णय गरेको छ ।

स्थानीय तहको पुनःसंरचनासम्बन्धी आयोगबाट पुनःसंरचनाको काम शीघ्र सम्पन्न गराइ तत्काल स्थानीय तहको निर्वाचनका लागि पहल गर्ने निर्णय गरेको नेता बडूले जानकारी दिए ।

पार्टीले सांगठनिक सुदृढीकरणका लागि ७५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइ राष्ट्रिय मुद्दामासमेत आवश्यक बहस चलाउने निष्कर्ष निकालेको छ ।

यसअघि, बैठकमा अधिकांश सदस्यले प्रमुख सत्ता साझेदार दललाई थाहा नदिइ सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले प्रमुख विपक्षी दल नेकपा एमालेसँग मिलेर व्यवस्थापिका–संसदमा दर्ता गरेको महाभियोगको प्रस्तावप्रति आशंका व्यक्त गरेका थिए ।

उनीहरुले महाभियोग प्रस्तावको पृष्ठभूमिकाबारेमा गहन अध्ययन गरेरमात्र पार्टीले उचित निर्णय लिनुपर्नेमा जोड दिएका थिए ।

कांग्रेसमा हालसम्म युवा नेताहरु विश्वप्रकाश शर्मा, गगन थापा, सुरेन्द्र पाण्डे, धनराज गुरुङ, प्रदीप पौडेल र बद्री पाण्डेलेमात्र स्पस्टरुपमा महाअभियोगका पक्षमा पार्टीले निर्णय लिनुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । रासस

Skip This