-जयराम बास्तोला, ईमेज
भक्तपुर, कात्तिक १० । तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई भ्याइनभ्याई छ ।
तिहारका लागि चाहिने पाला, धुपौरालगायतका माटाका सामानको माग बढेसँगै कुमालेलाई भ्याइनभ्याई भएको हो । तर, भने जस्तो माटो र मजदुर नपाईंदा आफूहरुलाई समस्या परेको गुनासो उनीहरुको छ ।
मागअनुसार पाला बनाउन भक्तपुरको बोलाछे, च्याम्हासिंह, जगाते, सूर्यविनायक, कमलविनायकलगायतका क्षेत्रका कुमाले समुदायलाई भ्याइनभ्याई भएको हो ।
माटोको अभाव हुने, तिहारमा मात्रै पाला, धुपौरालगायतको माग बढ्ने र अरु बेलामा माटोका भाँडाको माग कम हुन थालेपछि यो पेसामा संलग्न कुमाले विस्थापित हुँदै गएकाले उत्पादनमा समेत कमी आएकोे छ ।
यस वर्ष पाला बनाउने कुमालेको संख्या घटेपछि पेसा अंगाल्दै आएकाहरुलाई भने पाला बनाउन भ्याइनभ्याई भएको हो ।
अर्कोतर्फ जिल्लामा चाहिएअनुसारको माटो नपाइने र बाहिरबाट किनेर ल्याउनु पर्ने भएपछि माटोका सामाग्रीको मुल्य समेत आकाशिएको तुलसीराम प्रजापति बताउँछन् ।
पालाको माग बढे पनि माटोको अभाव र काम गर्ने मान्छे नहुँदा मागअनुसारको उत्पादन हुन नसकेको अधिकांशको गुनासो छ ।
पछिल्लो समय यो पेसाबाट वर्षभरी गुजारा चलाउन नसक्ने र माटो पनि नजिक नपाइएपछि टाढाबाट किनेर ल्याउनु परेकाले यो व्यवसाय नै संकटमा परेको सहदेव प्रजापति बताउँछन् ।
भक्तपुरमा यस वर्ष होलसेलमा एउटा पालाको एक रुपैयाँ ५० पैसा र खुद्रा मूल्य दुई रुपैयांमा बिक्री भइरहेको छ ।
गत वर्षको तिहारमा ७५ पैसादेखि एक रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो । भक्तपुर र थिमिमा बनाइएका पाला, काठमाडौं, कास्की, रुपन्देही, काभ्रे, दोलखालगायतका जिल्लामा खपत हुने गरेको छ ।





प्रतिक्रिया दिनुहोस्