Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


जिल्ला मै नमूना कृषक बनेकी छन् गीता (भिडियो)


0
Shares

डिल्लीराज पन्त
कञ्चनपुर, कात्तिक १२ । नेपाली समाजमा सामान्यतया महिलाहरुले घर गृहस्थी चलाउने, बालबालिका स्याहार गर्ने तथा सामान्य खेतबारीको काम गर्ने गरेको पाईन्छ । घर खर्चका लागि अधिकांश महिलाहरु आफ्ना श्रीमानको आम्दानी मै आश्रित हुने गर्दछन् तर त्यस्ता महिलाहरुका लागि प्रेरणाको स्रोत बनेकी छिन्– कञ्चनपुर भिमदत्तनगरपालिका–४ गोवरियाकी गीता पाण्डेय ।

भिमदत्तनगरपालिका–६, ऐठपुरमा ८ विगाहा जमिन भाडामा लिएर धान खेती र विभिन्न तरकारी खेती गरी लाखौं रुपैयाँ आर्जन गर्न उनी सफल भएकी छन् । घर खर्चका लागि घरका पुरुष सदस्यकै भर पर्नुभन्दा महिलाहरुले पनि आफ्नै खुट्टामा उभिएर केही न केही गर्न सक्छन् भनेर आफूले यो पेशा सूरु गरेको उनको भनाइ छ ।

नमुना कृषक बनेकी पाण्डेयले एकवर्ष अगाडी ८ विगाह जमिन बार्षिक २ लाख ४० हजार रुपैयाँमा भाडामा लिएर खेती गर्दै आएकी हुन् । उनले धान तथा विभिन्न किसिमका तरकारी खेती गरी अहिले ७ जनालाई रोजगारीसमेत दिएकी छन् ।

यो सिजनमा धान तथा तरकारी खेतीमा करिब ८ लाख बढी लगानी गरी उनले दैनिक ३ देखि ४ हजारसम्मको तरकारी बेच्दै आएकी छिन् ।

कृषि सम्बन्धी सामान्य तालिम लिई धान तथा तरकारी खेती गर्दै आएकी पाण्डेयले बार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको बताइन् । धान खेतीसँगै उनले गोलभेडा, मुला, बन्दा, खुर्सानी, पालक लगायतका तरकारी लगाएकी छिन् ।

आगामी दिनमा जैविक विषादीयुक्त तरकारीको पसलसमेत सञ्चालन गर्ने उनको लक्ष्य छ । आफुसँग भएको सानो खेतबारीमा पनि लगनशीलताले काम गर्ने हो भने साग, तरकारीका लागि भारतीय उत्पादनमा भर पर्नु नपर्ने उनी बताउँछिन् ।

अहिलेसम्म कुनै निकायको सहयोग विनानै नमूना कृषक बन्न सफल भएकी पाण्डेयजस्तै अन्य महिला कृषकलाई पनि सम्वन्धित निकायले प्राविधिक तथा आर्थिक सहयोग गर्ने हो भने खेतीबाट पनि मनग्य आम्दानी गरी परनिर्भरताको समस्या समाधान हुने निश्चित छ ।