Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


पुरानै सर्वेअनुसार हुलाकी राजमार्ग निर्माण हुने


0
Shares

कैलाली, कात्तिक १२ । कैलालीको वसन्ता वन क्षेत्रको ९० हेक्टर अतिक्रमण खाली गराउन स्थानीयवासीले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि पुरानै सर्वेअनुसार काम गर्ने सहमति भएको छ ।

कैलालीको रतनपुर– ५ वसन्तामा बिहीबार आयोजित बृहत छलफलमा वसन्ता जैविकमार्गमा पर्ने ९० हेक्टर अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउन स्थानीयवासीले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि जिल्ला वन कार्यालयले पुरानै नक्सांकनअनुसार हुलाकी सडक निर्माण गर्न दिने सहमति जनाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्ले, हुलाकी सडक निर्माण आयोजनाका प्रमुख तुरुन्त मण्डल र राजनीतिक दलका प्रतिमन्डललगायत स्थानीय बासिन्दाबीच बृहत छलफल भएपछि सो सहमति भएको हो ।

छलफलमा जिल्ला वन अधिकृत रमेश चन्दले वसन्तामा अतिक्रमण गरी बसेकालाई हटाउन स्थानीयवासीले सहयोग गरेमा वन कार्यालयले पुरानै सर्वेअनुसार सडक निर्माण गर्न दिने बताए ।

पवेरा गाविस–४ का पूर्वअध्यक्ष पर्शुराम चौधरीले सरकारको राष्ट्रिय नीति र जनताको मागअनुसार जंगलको उत्तर दिशातर्फबाट हुलाकी बाटो बनाउने रहेकाले यसका लागि यहाँका जनताले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वसन्ता जैविकमार्गको अस्तित्व संकटमा पर्ने भन्दै जिल्ला वन कार्यालय कैलालीले हुलाकी सडकको नक्सांकन परिवर्तनको अडान लिएपछि लामो समयदेखि कैलालीमा पर्ने हुलाकी राजमार्गको निर्माणकार्य रोकिएको थियो । रासस