काठमाडौं, कात्तिक १२ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘सिल्क रोड’ले एसियाका प्रत्येक देशलाई बृहत् लाभ पुर्याउने बताउँदै यो कालान्तरमा एसियाको गौरव बन्ने बताएका छन् ।
चीनको ग्वान्झाओमा भइरहेको ‘२१औं शताब्दी मेरिटाइम सिल्क रोड इन्टरनेसनल एक्स्पो’लाई सम्बोधन गर्दै उनले चीनले पहल गरेको एकपेटी–एकमार्ग योजनाले एसियाली राष्ट्रलाई जोड्न निकै योगदान पुर्याउने बताएको उनको निजी सचिवालयले जनाएको छ ।
एकपेटी–एकमार्गका विषयमा धारणा राख्दै उनले यस योजनासँगै समुद्री रेसममार्गले एसियालाई बाँकी विश्वसँग जोड्ने कार्यलाई थप बृद्धि गर्ने र सहज बनाउने उल्लेख गरे ।
संयोजक भट्टराईले भने–‘रेल र राजमार्गद्वारा चीनको तिब्बत स्वायत्त क्षेत्र र नेपाललाई जोड्न (सम्भवतः भारतसम्म विस्तार गर्न) दुबै प्राविधिक र आर्थिकरूपले सम्भव छ । तसर्थ चीन–भारत–नेपाल आर्थिक करिडोरको कुरा गर्दा भौगोलिक प्रतिकूलताको पुरानै अवधारणा अब असान्दर्भिक भइसकेको छ ।’
डा. भट्टराईले व्यापक पूर्वाधार विकास र तीव्र आर्थिक बृद्धिकोनिम्ति चीनसँग भएको पुँजी र विशेषज्ञताको उपयोग गर्ने नीति अवलम्बन गर्नु नै बुद्धिमानी हुने बताए ।
उनले एक्काइसौं शताब्दीमा एसियाली अर्थतन्त्रले सामना गरिरहेको प्रमुख चुनौती गरिबी र बेरोजगारी रहेको बताउँदै एकपेटी–एकमार्गको पहलले विश्वव्यापी सम्बन्ध र जडान सुदृढ एवं फराकिलो बनाउनेमात्र होइन, यसले संसारलाई नै अझ समृद्ध र शान्तिपूर्ण बनाउनमा मद्दत पुर्याउने विचार व्यक्त गरे । रासस





प्रतिक्रिया दिनुहोस्