Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


तिहार लाग्यो, मखमलीको माला उन्न भ्याइ–नभ्याइ


0
Shares

भक्तपुर, कात्तिक १३ । तिहार शुरु भएसँगै भक्तपुरमा मखमली फूलको माग बढ्दै गएको छ ।

तिहारमा दिदीबहिनीले दाजभाईलाई कहिल्यै नओइलाउने मखमली फूलको माला लगाएर आर्शिवाद दिने प्रचलन छ । जेठमा रोपेको मखमली फूल साउनको सुरुवातदेखि नै टिपेर माला गाँसी झुण्ड्याएर राख्ने गरिन्छ ।

प्रत्येक वर्ष यस भेगका कृषकले मखमली फूलबाट २५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । विशेष गरी तिहारका लागि मात्र प्रयोग हुँदै आएको मखमली फूल छठपर्वका लागि समेत माग हुँदै आएको कृषक बताउँछन् ।

भक्तपुरको मखमली फूलको माग स्वदेशमा मात्र नभई विदेशमा समेत उत्तिकै छ । मखमली फूलमा लागेको मेहनतको तुलनामा आम्दानी भने सोचेजस्तो उत्साहजनक नभएको कृषकको गुनासो छ ।

मखमली फूलको बिरुवा जोगाउनै मुस्किल पर्ने उनीहरुले बताए ।

जरा कुहिने, डढुवा रोग लाग्ने हुनाले औषधी तथा भिटामिनको प्रयोग अत्याधिक गर्नुपर्छ । भक्तपुरका कृषकले मखमली फूल बिक्रीका लागि काठमाडौंको असन र कालीमाटी लैजाने गरेका छन् ।