काठमाडौं, कात्तिक १४ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले तीनबुँदे सम्झौताअनुरुप औपचारिक रुपमा वार्ता प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
गठबन्धनका नेताले शनिबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनकै निवास बालुवाटारमा भेट गरी तीनबुँदे सम्झौताअनुरुप औपचारिक वार्ता प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् ।
सम्झौतामा हस्ताक्षरकर्ता दलका शीर्ष नेताको उपस्थितिमा औपचारिक वार्ताका लागि आग्रह गरिएको गठबन्धनको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
झण्डै तीन महिनाअघि सरकार गठनका बेला प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धनका संयोजक उपेन्द्र यादवबिच तीनबुँदे सम्झौतामा हस्ताक्षर भएको थियो ।
छलफलमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा र गठबन्धनका तर्फबाट नेताहरु महन्थ ठाकुर, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण सहभागी थिए । गठबन्धनको आग्रहपछि प्रधानमन्त्री दाहालले मागबारे औपचारिक छलफल शुरु गर्न गठबन्धनका नेतालाई बालुवाटार बोलाएका छन् ।









प्रतिक्रिया दिनुहोस्