Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


रानीपोखरी र काष्ठमाण्डप पुनर्निर्माण नसक्दा टिका प्रभावित


0
Shares

काठमाडौं, कात्तिक १४ । २०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण भत्किएको काठमाडौंको रानीपोखरी यसपटक पनि सर्वसाधारणका लागि खुल्ला नहुने भएको छ ।

रानीपोखरीको पुनर्निर्माणको काम भर्खरै शुरु भएका कारण यसपटक पनि रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर महादेवको मन्दिरमा दर्शन गर्न नपाईने भएको हो ।

भूकम्पअघि हरेक वर्ष तिहारको भाईटिकाको दिनमात्रै रानीपोखरी र यसको बीचमा रहेको महादेवको मन्दिर सर्वसाधारणको लागि खुल्ला गरिन्थ्यो । दाजुभाई तथा दिदीबहिनी नहुनेहरुका लागि यसपटक पनि रानीपोखरीको प्रवेशद्वारमै टिका लगाउने व्यवस्था मिलाइएको छ ।

काठमाडौं महानगरपालिकाले तिहार अघि नै दर्शन गर्न मिल्ने गरी मन्दिर निर्माण गर्ने तयारी गरेको भएपनि मापदण्ड विपरित निर्माण भएको भन्दै पुरातत्व विभागले निर्माण रोक्न निर्देशन दिएपछि रानीपोखरीको निर्माणको जिम्मा पुरातत्वले नै लिएको छ ।

यसैबीच काठमाडौंंको बसन्तपुरमा रहेको काष्ठमण्डपको मन्दिर पनि भूकम्पपछि पुनर्निर्माण हुन नसक्दा यहाँ हुने गरेको सामूहिक टिका पनि प्रभावित हुने भएको छ ।

यसअघि हरेक वर्ष दिदीबहिनी नहुनेहरुका लागि अञ्जली दिदीले टिका लगाईदिने गरेकी थिइन् । काष्ठमण्डपको भने अहिलेसम्म पुनर्निर्माणको काम नै शुरु भएको छैन ।