३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


‘कट्टर दुश्मन’देखि ऐतिहासिक कदमसम्म


0
Shares

किशोरजंग थापा (इमेज)

काठमाडौं, जेठ २९ । दशकौंदेखि रहस्यमय मलुककारुपमा हेरिँदै आएको उत्तर कोरिया अहिले विश्व रंगमञ्चमा विस्तारै घुलमिल हुँदै जान थालेको छ ।

अमेरिकासम्म मार हान्नसक्ने क्षेप्यास्त्रलगायतका आणविक अस्त्रको बलमा उभिएको उत्तर कोरिया त्यही शक्तिको आडमा विश्वको शक्तिशाली राष्ट्र अमेरिकासँग सर्वाधिक महत्वपूर्ण सफल शिखर सम्मेलनसम्म आइपुग्यो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उन सिंगापुर वार्तामा आइपुग्नु नै विश्व राजनीतिमा इतिहास रच्ने घटना सावित भइसकेको छ भने यसका उपलब्धि पनि कम महत्वका छैनन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार सिंगापुरको कापेला होटलमा जब उत्तर कोरियाका नेता किमसँग संयुक्त दस्तावेजमा हस्ताक्षर गरे, त्यो दुई मुलुकबीच पहिलो दुर्लभ ऐतिहासिक घटना बन्न पुग्यो ।

कट्टर दुश्मनकारुपमा चिनिँदै आएका यी दुई नेता मुस्कुराउँदै हस्ताक्षर गर्दाको क्षण विश्व राजनीतिलाई चकित पार्ने महत्वपूर्ण क्षण सावित भयो ।

औपचारिकरुपमा युद्धकै अवस्थामा रहेका दुई मुलुक कुनै समय एक–अर्काका कट्टर दुश्मन थिए र एक–अर्काविरुद्ध ‘विष वमन’को तहमा ओर्लिएका थिए ।

अप्रत्याशितरुपमा चुनाव जितेर राष्ट्रपति बनेका ट्रम्पले उत्तर कोरियाली नेता किमसँग वार्ता गर्न तयार रहेको बताउँदा धेरैले त्यसलाई राजनीतिक ‘ठट्टा र मजाक’कारुपमा टिप्पणी गरे । तर, त्यही ठट्टा र मजाक विश्व शान्तिको निम्ति कोसेढुंगो बन्ने लक्षण देखिँदैछ ।

सन् १९६० देखि आर्थिक तथ्यांक सार्वजनिक गर्न रोक लगाएपनि आर्थिक नाकाबन्दीको चर्को मारमा परेको उत्तर कोरिया आर्थिकरुपमा जर्जर बन्दै गएसँगै उसको एकमात्र बलियो सहयोगी चीनले पनि वार्ताका लागि दबाब बढाइरहेको थियो ।

यसअघि, दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँग किमले २७ अप्रिलमा ऐतिहासिक वार्ता गरेर कोरियाली युद्ध औपचारिकरुपमा अन्त्य गरेका थिए । त्यही वार्ता नै ट्रम्प र किम भेटवार्ताको प्रस्थानविन्दु थियो ।

आफ्ना बाबुको निधनपछि वंश परम्परा धान्दै उत्तर कोरियाको शासन सम्हालेका ३४ वर्षीय किम ७२ वर्षीय ट्रम्पसँग आफ्नो कमजोर कूटनीतिक अनुभवलाई जबरजस्तरुपमा प्रस्तुत् गरिरहेका थिए ।

किमका लागि अमेरिकी राष्ट्रपतिसँग एउटै मञ्चमा सँगै देखिनु एक प्रकारको विजय थियो भने विवादास्पद छवि बोकेका ट्रम्पका निम्ति उत्तर कोरियालाई निःशस्त्रीकरण पार्ने मूल मुद्दामा सहमत गराउनु महत्वपूर्ण उपलब्धि थियो ।

त्यतिमात्र होइन, सिंगापुर शिखर वार्ताबाट भएका सहमतिहरु उत्तर कोरियाको निःशस्त्रीकरण, कोरियाली प्रायद्वीपको शान्ति र उत्तर कोरियाविरुद्धको नाकाबन्दी खुकुलो पार्ने दिशामा महत्वपूर्ण घटना बनेको छ ।

सिंगापुर वार्ताको परिणाम सकारात्मक आएसँगै कोरियाली प्रायद्वीपमा शान्तिको सम्भावना बलियो बन्दै गएको छ भने दशकौंदेखि मडारिरहेको युद्धको बादल विस्तारै हट्दै जाने विश्वास जागेको छ ।

यसले समग्र विश्वमा पनि शान्तिको सन्देश दिएको छ र शान्तिका लागि वार्ताभन्दा अर्को विकल्प नरहेको पनि प्रमाणित गरिदिएको छ ।

भेटवार्ताअघि हल्का ‘नर्भस’जस्तो देखिएका दुवै नेता वार्ताबाट बाहिरिँदा निकै उत्साही बनेको उनीहरुको हाउभाउले बताएको थियो । किमलाई ‘ह्वाइट हाउस’मा निम्तो दिने ट्रम्पको प्रतिक्रियाले पनि थप पुष्टि गर्‍यो । –एजेन्सीको सहयोगमा ।