Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


पर्यटन प्रबर्द्धनका लागि देहरादुनमा अन्तर्राष्ट्रिय मेला हुने


0
Shares

कञ्चनपुर, कात्तिक १६ । पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कञ्चनपुर उद्योग वाणिज्य सङ्घले भारतको उत्तराखण्डको पर्यटकीय नगरी देहरादुनमा व्यापार मेलाको आयोजना गर्ने भएको छ ।

यहाँका कला संस्कृति, पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक सङ्घले अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्न लागेको हो । भारतीय पर्यटक र बाह्य क्षेत्रका पर्यटकलाई नेपाल भित्र्याउन मेलाले सघाउ पु¥याउने विशवास लिइएको छ ।

आउँदो डिसेम्बर दोश्रो सातादेखि पाँच दिनसम्म देहरादुनमा आयोजना हुने मेलामा हस्तकलाका सामग्री, जडिबुटी, तयारी पोशाक, पस्मिना, पर्यटकीय क्षेत्रबारेका जानकारी दिन ४० भन्दा बढी कक्ष राखिने सङ्घका वरिष्ठ उपाध्यक्ष जङ्गबहादुर मल्लले बताए ।

‘देहरादुन आउने पर्यटक प्रचारप्रसारको अभावमा यहाँका पर्यटकीय क्षेत्रकाबारे कम मात्रै चासो देखाउने भएकाले मेलाबाट पर्यटकलाई द्वन्द्वपछि नेपालमा शान्ति स्थापना भई पर्यटकीय गन्तव्य सुरक्षित रहेकोबारे जानकारी दिन मेलाले मद्दत गर्नेछ,’ उनले भने ।

सम्भाव्य पर्यटकीय क्षेत्रको प्रचार गरी विदेशी लगानी भित्र्याउनसमेत मेलाको माध्यमबाट पहल गरिने उनको भनाइ छ । (रासस)