Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


म्याग्दीलाई ‘फ्रि वाइफाई’ बनाउन बेलायतमा २५ लाख सङ्कलन


0
Shares

म्याग्दी, कात्तिक १६ । बेलायतमा रहेका म्याग्देलीले जिल्लालाई ‘फ्रि वाइफाई’ बनाउन देउसीभैलोमार्फत रु २५ लाखभन्दा बढी सङ्कलन गरेका छन् ।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) युकेको दशौँ वार्षिकोत्सव तथा फ्रि वाइफाई अभियानका लागि रात्रिभोज कार्यक्रममा म्याग्देलीले देउसीभैलोमार्फत उक्त रकम सङ्कलन गरेको मोना युकेका पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक योगकुमार फगामीले बताए ।

सहयोगदाताले म्याग्दीका सबै बस्तीमा इन्टरनेट प्रयोग गरेको छिट्टै देख्न पाइनेमा आशावादी रहेको बताउँदै प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोधसमेत गरेको फगामीले बताए ।

मोना युकेका अध्यक्ष कमलबहादुर पुर्जाले फ्रि वाइफाई अभियान र ज्येष्ठ नागरिक मीनबहादुर शेरचनको सगरमाथा आरोहणको अभियानलाई प्राथमिकता साथ अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।

बेनी नगरपालिका र ३५ गाविसमा रहेका विद्यालय, सामुदायिक, स्वास्थ्य चौकीसहित सार्वजनिक महत्वका क्षेत्रमा निःशुल्क र व्यक्तिगत प्रयोजनका लागि मर्मत खर्च जुट्ने गरी इन्टरनेटको व्यवस्था गरिनेछ ।

अभियानअन्तर्गत गाउँगाउँमा इन्टरनेट विस्तारका लागि अप्टिकल फाइवर र वायरलेस प्रविधिको प्रयोग गरिनेछ । (रासस)