
जनकपुरधाम, कात्तिक १७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार नागरिक अभिनन्दन गरिने भएको छ ।
जनकपुरधामबासीद्वारा राष्ट्रपति मुखर्जीलाई प्रदान गरिने नागरिक अभिनन्दनपत्र तीन भाषामा तयार गरिएको छ ।
नेपाली, अंग्रेजी र मैथिली भाषामा अभिनन्दनपत्र तयार गरिएको अभिनन्दन समारोह समितिका संयोजक एवं जनकपुर उपमहानगरपालिकाका प्रमुख पुन्यप्रसाद लुइँटेलले बताए ।
अभिनन्दनपत्रमा जनकपुर र अयोध्याको सम्बन्ध, जानकी र रामको वैवाहिक सम्बन्ध, मिथिला र अवधको सम्बन्ध, दुबै देशको भाषा र संस्कृतिलगायत नेपाल र भारतका सम्बन्धबारे वर्णन गरिएको छ ।
भारतीय राष्ट्रपति मुखर्जीको यही कात्तिक १९ गते जानकी मन्दिरमा पूजाअर्चना र तिरहुतियागाछीमा नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ ।
जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार भारतीय राष्ट्रपति मुखर्जीलाई जानकी मन्दिरमा वैद्धिक र मिथिलाको संस्कृतिअनुसार स्वागत्, जानकी मन्दिरमा विशेष पूजा, मन्दिर परिसरका अरु विभिन्न मूर्तिको पूजा र जानकी मन्दिरको परिक्रमा गरिने कार्यक्रम रहेको छ ।
सोका लागि मन्दिरलाई फूलले सजाउनेकार्य तीव्ररूपमा भइरहेको छ । त्यस्तै, राष्ट्रपति मुखर्जीको नागरिक अभिनन्दन हुने स्थल तिरहुतियागाछीमा मन्चको व्यवस्थापन र सजाउनेकार्य पनि उच्चसुरक्षासहित भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाइँले भारतीय राष्ट्रपति मुखर्जीको जनकपुरधाममा ५५ मिनेटको कार्यक्रम रहेको बताउँदै विमानस्थलमा उपप्रधान र गृहमन्त्री विमलेन्द्र निधिले स्वागत् गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
भारतीय राष्ट्रपति मुखर्जीको स्वागतका लागि जनकपुर विमानस्थलदेखि जानकी मन्दिर परिसर एवं अभिनन्दनस्थल (तीन किलोमिटर)सम्म स्वागतद्वारको निर्माण गरिएको छ भने बिजुलीका पोलमा नेपाल र भारतका झन्डा र तुल राखिएको छ ।
मुखर्जीको स्वागतका लागि विमानस्थलदेखि अभिनन्दनस्थलसम्मका सडक, चोकलाई सफा र चिटिक्क बनाउनेकार्य पनि तीव्ररूपमा भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्