
काठमाडौं, कात्तिक १७ । भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंमा ओर्लनुअघिदेखि नै उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भारतीय राष्ट्रपतिको भ्रमणलाई सहज र व्यवस्थित बनाउन भन्दै काठमाडौंका अधिकांश मुख्यसडक खाली गराएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।
सधैंभरि भीडभाडपूर्व देखिने राजधानीका सडकहरु बुधबार बिहानैदेखि खालीजस्तै देखिन्थे । त्यसो त सार्वजनिक बिदा नै भएका कारण पनि बुधबार काठमाडौंमा कमै गाडी चलेका थिए ।
त्यसमा पनि भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र उनको सुरक्षाका लागि भन्दै काठमाडौंका प्रमुख क्षेत्रहरुमा बिहान १० बजेदेखि नै सवारी–साधन प्रवेश गर्न रोक लगाइएको थियो ।
सडकमा खटिएका ट्राफिक प्रहरीले यात्रु तथा चालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिरहेका थिए ।
मुखर्जी मध्याह्न करिब साढे १२ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि भने काठमाडौंका सडक कर्फ्युको समयमाजस्तै देखिन्थे । पुरै सडक खालीमात्रै गरिएको होइन, मुखर्जी सडकमार्ग भएर विभिन्न स्थानमा आउजाउ गर्दा सडक छेउछाउमा हिँड्ने यात्रुहरुलाई रोकिएको थियो ।
विशेष गरी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, माइतीघर, सिंहदबार, न्यूरोडगेट, जमल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, महाराजगन्जलगायतका क्षेत्रमा रहेका अग्ला घरमाथि पनि सुरक्षाकर्मी खटाइएको थियो ।
मुखर्जीको सवारी राजधानीका विभिन्न स्थानमा हुँदा त्यस आसपासका करिब डेढ सय मिटर क्षेत्रमा मोबाइलको सिग्नल अवरुद्ध गर्ने ‘जामर’सहितको गाडी गुडाइएको थियो ।
भारतीय राष्ट्रपतिको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको छ । परराष्ट्र र गृह मन्त्रालयसँगको समन्वयमा मुखर्जीको सुरक्षाको जिम्मेवारी सेनाले लिएको प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिए ।
मुखर्जीको सुरक्षार्थ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटिएका छन् ।
त्यसैगरी, भारतबाटै विशेष सुरक्षाकर्मीसमेत भारतीय राष्ट्रपति मुखर्जीको सुरक्षार्थ खटिएका छन् ।
सुरक्षाकर्मीले ठाउँठाउँमा चेकचाँजमा कडाइ गरेका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्