२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


विहीबार यी ठाउँमा हुँदैछ सडक अवरोध, बुधबार ६ जना पक्राउ


0
Shares

काठमाडौं, कात्तिक १७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको समयमा सर्वसाधारणले वैकल्पिक सडकमार्गको प्रयोग गरेकाले बुधबार सवारी आवागमनमा समस्या भोग्नु नपरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

नेपाल प्रहरीका प्रवक्ता हेमन्त मल्ल ठकुरीले प्रहरीको आग्रहअनुसार राष्ट्रपतिको पूर्वनिर्धारित सवारी समयअनुसार सर्वसाधारणले ती स्थानमा वैकल्पिक सडकमार्गको प्रयोग गरेकाले बुधबार खासै समस्या नआएको बताए ।

उनले भने–‘आज सार्वजनिक बिदा भएका कारण पनि खासै सवारी–साधन चलेका थिएनन्, राष्ट्रपतिको सवारीकै कारण लामो समय कतैपनि सर्वसाधारणको सवारी आवागमन रोकिएन ।’

ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले विहीबार (भोलि) राष्ट्रपति मुखर्जीको ९ ठाउँमा आउजाउ हुने कार्यक्रम रहेकाले सर्वसाधारणको सवारी आवागमनमा केही असहजता आउनसक्ने बताए ।

उनले भने–‘भोलि बिदा नभएकाले सवारी आवागमनमा केही असहजता आउला, तर आजकै जस्तो सर्वसाधारणले तोकिएको समयमा वैकल्पिक रुटको प्रयोग गरे भने जामको समस्या भोग्नु पर्दैन ।’

प्रहरीले सार्वजनिक गरिसकेको समयअनुसार ती स्थानमा वैकल्पिकमार्गको प्रयोग गर्न उनले आग्रह गरे ।

विहीबारका वैकल्पिकमार्ग
राष्ट्रपति मुखर्जीको भ्रमणको दोस्रो दिन कात्तिक १८ गते बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एअरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली र जोरपाटी क्षेत्रको सट्टा वैकल्पिकमार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

बिहीबार नै बिहान १० देखि अपराह्न २ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एअरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर, शंखमूल, नागस्थान र नयाँसडक क्षेत्रमा वैकल्पिकमार्ग प्रयोग गर्नु उपयुक्त हुने प्रहरीले जनाएको छ ।

त्यस्तै, अपराह्न ४ देखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एअरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रमा वैकल्पिकमार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

सोही दिन साँझ ५ देखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, नयाँसडकढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जयनेपाल हल, कोटेश्वर, नागस्थान र ठमेल क्षेत्रमा अन्य वैकल्पिकमार्ग प्रयोग गर्नु उपयुक्त हुने बताइएको छ ।

साँझ ६ः३० देखि बेलुकी ८ः३० सम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एअरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर र शंखमूल क्षेत्रमा वैकल्पिकमार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

बिहीबार बेलुकी ८ देखि राति १० बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एअरपोर्ट, बत्तीसपुतली क्षेत्रमा चल्ने सवारी–साधनले अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुनेछ ।

भ्रमणको तेस्रो दिन कात्तिक १९ गते राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा जाने कार्यक्रम रहेकाले काठमाडौं उपत्यकाको सवारी आवागमन धेरै समय अवरोध हुने छैन ।

सो दिन बिहान ९ देखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगंगा, एअरपोर्ट, तीनकुने हुँदै सन्चालन हुने सवारी–साधन प्रभावित हुने भएको छ ।

उल्लिखित मार्ग भएर चल्ने सवारी–साधनलाई पनि अन्य वैकल्पिकमार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

भ्रमण अवधिभर ट्राफिक प्रहरीले सन्चालन गरेको ९५ दशमलव ६ मेगाहर्जको ‘ट्राफिक एफएम’बाट १०/१० मिनेटमा सवारी ‘अपडेट’ दिइने भएकाले सोहीअनुरुप यात्रा तय गर्न सबैसँग ट्राफिक प्रहरी महाशाखाका प्रमुख अर्यालले आग्रह गरे ।

त्यस्तै, प्रहरीको मोबाइल एप्प र फेसबुकपेजमा सवारी आवागमनबारे सूचना दिने व्यवस्था मिलाइएको तथा १०३ मा डायल गरेरसमेत जानकारी लिन सकिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

६ जना पक्राउ
राष्ट्रपति मुखर्जीको भ्रमणका क्रममा ग्रेटर नेपाल अभियानका अध्यक्ष फणीन्द्र नेपालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालसहित राम खड्का र लोकराज जैशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट, तीलक बोहरा र योगेश बराललाई बत्तीसपुतलीस्थित गोल्डेनगेट कलेज अगाडिबाट र शारदा भुसाललाई माइतीघरमन्डलाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता ठकुरीले जानकारी दिए ।

भ्रमणका क्रममा विरोध प्रदर्शन गर्ने तयारी गरेको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता ठकुरीले पक्राउ परेकाको सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए । रासस